रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मङ्सिर १ देखि १८ गतेसम्म सञ्चालित पाठेघरको मुखको क्यान्सर (भिआइए)सम्बन्धी शिविर समापन भएको छ । १६ वटै वडामा सञ्चालन भएको शिविरमा भिआइए, आङ खस्ने र यौन रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य शाखाका उपसंयोजक बासुदेव सापकोटाका अनुसार रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजना र लायन्स क्लब अफ मिड नेपालको संयोजनमा ९०३ महिलाको भिआइए परीक्षण गरिएको थियो । जसमा २० जनामा भिआइए पोजेटिभ देखिएको छ ।
यस्तै, पेल्भिक इन्फ्लामोटरी डिजिज (पिआइडी) का ४४ जना, पाठेघरको मुखमा घाउ भएका ७० जना, पाठेघर खसेको १२ जना, मुत्रनलीको सङ्क्रमण १२ जना, योनीबाट पानी बग्ने ४२ जना, पाठेघरको मुखमा मासु पलाएको १० जना, सिस्टोसिलका एक जना रहेको उपसंयोजक सापकोटाले जानकारी दिए ।
उनका अनुसार २२ जना थप उपचार गर्नुपर्ने महिलाका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रेफर गरिएको र अन्यलाई आवश्यकताअनुसार अस्पतालहरुमा उपचार तथा रेफर गरिने छ ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले ३० वर्षदेखि ६० वर्षसम्मका महिला दिदीबहिनीहरुको समयमै रोगको निदान गरी उपचार गराउन भिआइए शिविर सञ्चालन गरेको र थप उपचार गर्नुपर्ने महिलाहरुको सवालमा रत्ननगर नगरपालिकाले उपचारको प्रबन्ध गर्ने बताए ।
कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वन्चित हुनुनपरोस् भन्ने उद्देश्यले आफू जनप्रतिनिधिका रुपमा नगरपालिका प्रवेश गरेदेखि नै स्वास्थ्यका क्षेत्रमा अन्य पालिकाभन्दा बढी सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । आमाको भ्रणमा रहेको बच्चादेखि जीवनको उत्तराद्र्धमा पुगेका वृद्धवृद्धासम्मका लागि विभिन्न उपचारसेवा नगरले प्रदान गरिरहेको उनको भनाइ थियो ।
गर्भवती महिलाको लागि प्रत्येक महिना निःशुल्क भिडियो एक्सरे, इसिजी सेवा र अन्य नागरिकका लागि नगरभित्र रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क ल्याबसेवा सञ्चालन गरिएको उनले बताए । निःशुल्क ल्याबसेवा बछौली स्वास्थ्यचौकी, पिठुवा स्वास्थ्यचौकी, नगर स्वास्थ्यकेन्द्र टरौली र रत्ननगर–२ स्थित नेपाल रेडक्रम रत्ननगर उपशाखामा सञ्चालित ब्लड बैंकबाट प्रदान भइरहेको छ ।
यस्तै, औषधि उपचार गर्न नसकेका असहाय र विपन्न नागरिकका लागि विपन्न सहायता कोषमार्फत दस हजार रुपैयाँबराबरको उपचार सुविधा रहेको उनले बताए । नागरिकलाई स्वास्थ्य उपचारमा सहज बनाउन निःशुल्क स्वास्थ्य बिमामार्फत पनि तीन हजार नागरिक लाभान्वित भएको उनले बताए ।
रत्ननगर नगरपालिकामा ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाको संख्या २१ हजार रहेको छ । प्रजनन उमेरका महिलालक्षित स्वास्थ्य शिविर तथा विभिन्न रोगहरुको निःशुल्क परीक्षण गरिँदै आएको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले बताए । यस्तै, क्यान्सर, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपण, मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक पाँच हजार रुपैयाँ यातायात खर्च प्रदान गर्दै आएको उनले बताए ।
रत्ननगरमा सञ्चालित भिआइए शिविरमा नर्सिङ प्राविधिकहरु सिअनमी निरीक्षक अम्बिका पौडेल, सिअनमी निरीक्षक गीता रायमाझी, सिअनमी निरीक्षक भगवती श्रेष्ठ, सिअनमी निरीक्षक निर्दोषी घिमिरे, सिअनमी निरीक्षक मनिता कार्की, अननी रुपमति आले, अननी सहनशीला बस्नेतलगायतले परीक्षण तथा सहजीकरण गरेका थिए ।
शिविरमा स्वास्थ्यकर्मीहरु, महिला स्वयंसेविकाहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुले सेवाग्राही महिलालाई समन्वय गरेका थिए ।