नौरते नेपाली, जुम्ला, २ फागुन । जुम्लामा व्यवसायिक रुपमा कालिज पाल्न थालिएको छ । बेल्जीयममा पाइने रिङनेक प्रजातिका कालिज, चन्दननाथ नगरपालिका ४ का दिपेन्द्र विक्रम हमाल र गुठीचौर गाउँपालिका ४ का महाकृष्ण पाण्डेले व्यवसायिक रुपमा पाल्न थाल्नुभएको छ ।
चन्दननाथ नगरपालिका ४ मा रहेको हमाल एग्रो एण्ड कालिज फर्म रिसर्च सेन्टरको नाममा कालिज फर्म खोलिएको छ । फर्ममा अहिले बेल्जीयममा पाइने रिङनेक प्रजातीको ७५ वटा कालिज छन् । आफुले झण्डै २० लाखको लगानीमा व्यवसाय सञ्चालनमा ल्याएको विक्रम हमाल बताउनुहुन्छ । एग्रो टुरिजमको अवधारणा अनुरुप परीक्षणका लागि २ रोपनी जग्गामा कालिज पालिएको र राम्रो हुँदै गएमा थप १३ रोपनी जग्गामा कालिज पाल्ने योजना रहेको हमालले बताउनुभयो । हमालका घरपरिवारलाई कालिज र कुखुराको फर्म रेखदेख गर्न भ्याइ नभ्याई छ ।
गाउँमै केही गर्न सकिन्छ भनेर युवालाई उत्प्रेरणा गर्न कालिज सँगै स्थानीय जातका कुखुरा पनि पालिएको फर्मको रेखदेखमा खटिनुभएका विक्रमका बुबा सर्पानन्द हमालको भनाइ छ । फर्ममा हाल चार सय वटा लोकल कुखुरा समेत छन् । उत्पादिक कालिज र कुखुरा विक्रीका लागि कुनै समस्या नरहेको फर्म संचालक व्यवसायीहरु बताउँछन् ।