काठमाडौं, मङ्सिर १२ गते । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ ।
बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउनुभयो । उहाँले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गर्नुभयो ।
उहाँले धितोपत्र बोर्डको अध्यक्ष विहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरु रहेको उल्लेख गर्नुभयो । ‘‘नयाँ स्टक एक्सचेन्जको सवालमा म स्पष्ट छु । नेपाल सरकारको नीति निर्देशन जे हुन्छ । त्यहीअनुसार अगाडि बढ्ने हो । धेरै विषयहरु अगाडि बढेको स्थिति छ । सरकारले गठन गरेको समितिले सुझाव बुझाएको अवस्था छ ।
अब सरकारको के निर्देशन आउँछ । त्यही अनुरुप अगाडि बढ्ने हो । आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तु स्थिति बुझ्छु ।,’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको थियो । त्यो समस्या समाधान हुँदै जान्छ ।
मेरो कार्यकालमा मैले धितोपत्र बोर्डको आफ्नै भवन पहिलो प्राथमिकतामा छ ।’’ अध्यक्ष श्रेष्ठले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताउनुभयो । उहाँले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरु अगाडि बढाउने जानकारी दिनुभयो ।