Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको बन्दीपुर स्थित मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

तनहुँको बन्दीपुर स्थित मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

रासस

१७, कार्तिक २०८१
तनहुँको बन्दीपुर स्थित मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै
images

तनहुँ । पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रवर्द्धन गर्न लागेको हो । 

images
images

चालु आर्थिक वर्षमा मुकुन्देश्वरीको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरूको निर्माण पुरातत्त्व विभागले र अन्य पूर्वाधार गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको साझेदारीमा पूर्वाधारहरू तयार गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए । 

यस वर्ष मुकुन्देश्वरी गढी र थानीमाई मन्दिरको डीपीआरका लागि रु छ लाख विनियोजन गरिएको थापाले बताउनुभयो । यस्तै चालु आर्थिक वर्षमा नै मुकुन्देश्वरी गढी पुग्नका लागि अधुरो सिँढी निर्माण र अन्य पूर्वाधार निर्माणका लागि गाउँपालिकाले  छ लाख ५० हजार, वडा नम्बर २ बाट रु एक लाख ५० हजार विनियोजन गरेको उनले बताए   । 

यसअघि नै मन्दिर पुग्नका लागि सिँढी, प्रतीक्षालय र बिजुली पुर्‍याइसकिएको छ । ऐतिहासिक स्थल मुकुन्देश्वरी गढी संरक्षण र प्रचारप्रसारको अभावले ओझेलमा पर्दै आएको थियो । यहाँ दरबार, सङ्ग्रहालय, पार्क, दृश्यावलोकन केन्द्र लगायतका संरचनाहरू बनाउने योजना छ ।  

बन्दीपुर गाउँपालिकाको वडा नम्बर २ मा रहेको ऐतिहासिक गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन राजाको पालामा निर्माण भएको जनविश्वास छ । यहाँ मुकुन्देश्वरी मन्दिर सहित पाल्पाली राजा मणि मुकुन्दसेनको भग्नावशेष शीतकालीन दरबार, तत्कालीन सैनिक टुँडिखेल ३०÷३५ जना बस्न मिल्ने गुफा, पानी सङ्कलनका लागि ८/१० फिट भन्दा गहिरो इनार, घोडा बाँध्ने तबेलाहरू रहेका छन् ।

विसं १५७५ देखि १६१० सम्म पाल्पा राज्य गरेका राजा मुकुन्दसेन विसं १५८१ १५८२ १५८३ सालमा पाल्पाबाट काठमाडौँ उपत्यका जाँदा होस् या आफ्ना राज्यका तीर्थस्थलहरूमा भ्रमण गर्न जाँदा बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी आउने गर्दथे । 

यहाँ रहेको मुकुन्देश्वरी मन्दिरमा राजा मणिमुकुन्दसेन शक्तिपुञ्ज देवी खड्गमाईको पूजाआरधना गर्दथे । अकस्मात् एक दिन उनी आफ्ना गुरुखलक भट्टराई थरका ब्राह्मणको घरमा बास बस्न पुगेको र ब्राह्मणका घरमा राखिएको खड्गमा देवी चढेकोले झाँक्रीको माध्यमबाट यही मुकुन्देश्वरीको चुचुरामा खड्गदेवी स्थापना गरी पूजाआजा हुँदै आएको किंवदन्ती रहँदै आएको छ । 

स्थानीय सुकुमलाल गुरुङका अनुसार शिखरमा पानीको अभाव रहँदा यहाँका बासिन्दाले नजिकैका काँठमा बसाइ सरे पछि खड्गदेवीको पूजामा निरन्तरता आउन सकेन । मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा वडादसैँमा नियमित पूजाआजा नभए पछि तनहुँसुरका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्दे कामीलाई बनाउन लगाएको तरबारमा खड्गदेवी प्रकट भए पछि शिखरको देवी मुकुन्देश्वरीलाई खड्गदेवीका नाउँमा पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । अहिले बन्दीपुरको खड्गमाईको विशेष धुमधामका साथ बरालथोक, बन्दीपुरमा पूजाआजा हुँदै आएको छ ।

बन्दीपुर आउने पर्यटकहरूलाई उक्त स्थानमा पुर्‍याउनका लागि विभिन्न योजनाहरू सहित काम भइरहेको अध्यक्ष थापाले बताए । गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि पदमार्ग पर्खाल निर्माणको कामलाई समेत तीव्रता दिएको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । यस्तै बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा यस क्षेत्रको प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक बन्दीपुर भित्र्याउने  योजना पनि गाउँपालिकाको छ ।

महाभारत शृङ्खला अन्तर्गत पर्ने मुकुन्देश्वरी समुन्द्री सतहबाट १३४३ मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरीदेखि माछापुछ्रे अन्नपूर्ण मनास्लु हिमचुली गणेश लाङटाङसम्मका दर्जनौँ हिमशृङ्खलाहरू लगायत तनहुँ लमजुङ गोर्खा चितवन र नवलपुरका स्थानहरू आँखै अगाडि देख्न सकिन्छ । बन्दीपुरबाट भञ्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुगी त्यहाँबाट ४५ मिनेटको उकालो पैदल सिँढ चढ्दै मुकुन्देश्वरी डाँडा पुग्न सकिन्छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८१ शनिवार - ०९:१०:५४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology