Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अम्बा बेचेर घरखर्च ‘नुनतेल’काे जाेहाे

अम्बा बेचेर घरखर्च ‘नुनतेल’काे जाेहाे

रासस

१६, कार्तिक २०८१
अम्बा बेचेर घरखर्च ‘नुनतेल’काे जाेहाे
images

गुल्मी । जब चाडबाड नजिकिँदै जान थाल्छन् तब टाउकामा नाम्लो र पिठ्यूँमा डोकोभरि बेलाउती (अम्बा) बोकेर शहर पस्ने गर्छन् गुल्मीका विपन्न परिवारका महिलाहरू। घरको आर्थिक अवस्था कमजोर बनेका जिल्लाको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला घरको चुलोचौको गर्ने समयमा पनि तिहारमा खर्चको जोहोका लागि डोकोमा अम्बाको भारी बोकेर बिहानै सदरमुकाम तम्घास धाउन बाध्य छन्।

images
images

उनीहरू दसैँतिहार जस्ता चाडबाडको समयमा बर्सेनि कहिले पैदलयात्रा त कहिले सवारीसाधनमार्फत बेलाउती (अम्बा) बिक्री गर्न सदरमुकाम तम्घास आउने दिनचर्या जस्तै बनेको छ। घरदेखि सदरमुकाम तम्घाससम्म आउन यातायातको सहज पहुँच भए पनि गाडीभाडा बचाउन पैदलै हिँडेर सदरमुकाम आउने गर्दछन्। एकाबिहानै पिठ्यूँमा डोकाभरि अम्बाको भारी बोकेर झिस्मिसेमा आँखा मिच्दै घरबाट हिँडेका ती महिला सदरमुकामसम्म आइपुग्दा पसिनाले निथ्रुक्कै भिजेका हुन्छन्।

गाउँमा यतिबेला प्रायः धेरैका खर्‍यान तथा बारीमा अम्बा प्रशस्त मात्रमा पाइन्छन्। गाउँमा अम्बाको खासै महत्त्व नहुने भएका कारण उनीहरू पाकेको अम्बा टिपेर बेच्न ल्याउँछन्। यसो गर्दा अम्बा पनि खेर नजाने र अलिकति भए पनि आम्दानी गर्न सकिने भएका कारण अम्बा बोकेर बिक्रीका लागि सदरमुकामसम्म आउने जाँगर बढेको इस्मा गाउँपालिका–५ बुल्मकी भीमकला कुमालले बताइन्।

धुर्कोट गाउँपालिकाका लक्ष्मी मुखिया र राधिका मुखिया पनि तिहारमा अम्बा बेचेर नुनतेल र चिनी किन्न खर्च जुटाउन सदरमुकाम तम्घाससम्म आइपुगेको बताउँछन्। सिजन अनुसारको फल भएका कारण सबैले मन पराउने र खान पनि निकै स्वादिलो हुने भएका कारण आफूहरू तम्घास आइपुगेको उनीहरूले बताए।

‘भनेको समयमा कसैले पैसा सापटी दिँदैन। घरको अवस्था पनि त्यस्तै छ, अर्काको घरमा मेलापात गरेर जीवन गुजारा गर्नुपर्छ, त्यही भएर फुर्सदको खाली समयमा अम्बा बिक्री गर्न आइपुगेका हौं’, राधिका मुखियाले भनिन्।

राधिका मुखिया आफूले डोकोमा बोकेर ल्याएको अम्बा बिक्री गरेर दैनिक पाँच सयदेखि आठ सय रूपैयाँसम्म आम्दानी गर्दै आएको बताउँछिन्। एक दाना अम्बा दुईदेखि तीन रूपैयाँमा बिक्री हुने गर्छ। बिक्री गरेको पैसाले तिहारमा रोटी पकाउन तेल र चिनी किनेर जाने हो’, मुखियाले भनिन्।

शहरदेखि गाउँसम्म यतिबेला दसैँ सकिएसँगै तिहारको चहलपहल बढ्दै जान थालेको छ। तर जिल्लाका विपन्न परिवारका नागरिक भने तिहारखर्च जुटाउन सडकमा बसेर बेलाउती (अम्बा) बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसिरहेका देखिन्छन्।

images
प्रकाशित मिति :कार्तिक १६, २०८१ शुक्रवार - ०८:४६:४१ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology