Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वैद्यानिक ढङ्गले उद्खनन् गर्न ढिलाई हुदाँ गोरखामा नदीजन्य सामाग्रीको चोरी हुने क्रम बढ्यो

वैद्यानिक ढङ्गले उद्खनन् गर्न ढिलाई हुदाँ गोरखामा नदीजन्य सामाग्रीको चोरी हुने क्रम बढ्यो

पत्रपत्रिका

२८, माघ २०७७
वैद्यानिक ढङ्गले उद्खनन् गर्न ढिलाई हुदाँ गोरखामा नदीजन्य सामाग्रीको चोरी हुने क्रम बढ्यो
images

गोरखा, २८ माघ । गोरखाका अधिकांश पालिकाले अहिलेसम्म ढुंगा, गिटी, बालुवा उत्खनन् कार्य सुरु गरेका छैनन्। उत्खनन् गर्न पाउने अवधि जम्मा चार महिना मात्र बाँकी छँदा अहिलेसम्म कतिपयले ठेक्का आब्हानै नगरेको र कतिपयले भर्खरै ठेक्काको सूचना प्रकाशन गरेको जनाएका छन्।
विधि र प्रक्रिया अनुसार उत्खनन् हुन नपाउँदा अधिकांश घाटहरुमा ढुंगा, गिटी, बालुवा चोरी भइरहेका छन्। ‘घाटबाट धमाधम ढुंगा, गिटी, बालुवा चोरी भएका छन्। त्यस्ता घाटबाट निर्धारित परिमाणमा ढुंगा, गिटी, बालुवा नपाउने भएकाले ठेकेदारले ठेक्का हाल्नै मुस्किल छ’, पालुङ्टार नगरपालिका ९ का वडाअध्यक्ष भेजराज पाण्डेले भने।
अजीरकोट गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, शहीद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले अहिलेसम्म नदीजन्य सामग्री उत्खनन्को ठेक्का आव्हान गरेका छैनन्।
सिरानचोक र शहीद लखन गाउँपालिकाले ठेक्का आव्हान गर्ने क्रममा रहेको जनाएका छन्। बारपाक सुलीकोट र भीमसेन थापा गाउँपालिकाले भने नदीजन्य सामग्री उत्खननको ठेक्का नै नगर्ने जनाएका छन्।
गोरखा नगरपालिका, धार्चे र गण्डकी गाउँपालिकाले भने भर्खरै उत्खनन्सम्बन्धी ठेक्काको सूचना प्रकाशित गरेको जनाएका छन्।
पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाले यसअघि नै ठेक्का प्रक्रिया पूरा गरी उत्खनन् कार्य सुरु गरिसकेको जनाएका छन्। चेपे, मस्र्याङ्दी र दरौँदी नदीका बिभिन्न घाटमा गरी तीन प्याकेजमा उत्खननको ठेक्का लागेको पालुङ्टार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज सापकोटाले जानकारी दिए। त्यस्तै दुईवटा प्याकेजमा ठेक्का लागेको आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए।
बिगतमा धेरै पटक ठेक्काको सूचना आव्हान गर्दा पनि ठेक्का नलागेकाले यसबर्ष ठेक्का नगरिएको बारपाक सुलीकोट गाउँपालिकाले जनाएको छ। ‘गतबर्ष पाँच, छ पटकसम्म ठेक्का आव्हान गर्दा पनि कसैको ठेक्का परेन। त्यसैले यसबर्ष ठेक्का नै नगर्ने भएका छौं’, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भने, ‘हाम्रो पालिका भित्रका घाटमा खासै ढुंगा, गिटी, बालुवा पनि छैनन्।’ विकास निर्माणको परियोजनाले माग गरेको आधारमा उत्खनन अनुमति दिने उनले बताए।
बूढीगण्डकी जलविद्युत आयोजनाले बालुवा उत्खनन नगर्न भनेर बारम्बार पत्राचार गरेकाले यसबर्ष बूढीगण्डकी किनारका घाटहरुमा उत्खनन ठेक्का नगरिने भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाको तर्क छ।
गोरखा नगरपालिकाले सातवटा प्याकेजका लागि दाखिला भएका सिलबन्दी दरभाउपत्र मूल्यांकनको चरणमा रहेको जनाएको छ।
धार्चेले छ वटा घाटमा ८५ लाखको टेण्डर गरेको छ भने गण्डकी गाउँपालिकाले १२ वटा प्याकेजमा सूचना जारी गरेको जनाएको छ। सिरानचोक गाउँपालिकाले भने आइईई स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ। त्यस्तै आईईई स्वीकृत गरेर ठेक्का आव्हानको अन्तिम चरणमा रहेको शहीद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताएका छन्।
अहिलेसम्म ठेक्का प्रक्रिया सुरु नगरेका पालिकाको नदीजन्य सामग्री उत्खननमा ढिलाइ हुने देखिएको छ।
ठेक्का प्रक्रिया पूरा गर्न कम्तिमा एक महिना लाग्ने भएकाले बाँकी चैत, बैशाख र जेठमा हतार हतार गरी उत्खनन गर्दा ‘हतपतमा लतपत’ हुने सम्भावना बढ्ने जानकारहरुको टिप्पणी छ।

images
images

दरौदी दैनिकबाट

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - २०:०७:२२ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology