Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ब्यूँतियो कालिकालाई ‘रोट’ चढाउने परम्परा

ब्यूँतियो कालिकालाई ‘रोट’ चढाउने परम्परा

रासस

२२, आश्विन २०८१
ब्यूँतियो कालिकालाई ‘रोट’ चढाउने परम्परा
images

गलकोट (बागलुङ) । कालिका देवीलाई खुसी पार्न ‘रोट’ चढाउने प्रचलन आधुनिकतासँगै हराएको थियो । तयारी मिठाइ तथा नरिवल चढाउने प्रचलन बढेपछि रोट चलाउने प्रचलन हटेको थियो ।  

images
images

दुई दशक अगाडिसम्म घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने प्रचलन रहेपछि पछिल्लो समय त्यो परम्परा घटेको थियो । बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्ने आउनेहरुले अक्षता र फूलपातीसँग रोट चढाउने चलन क्रमशः हट्न थालेको २० वर्ष हुन थालेपछि पछिल्लो समय कालिका मन्दिरमा तयारी रोट किनेर चढाउन थालिएको पाइएको छ ।

मन्दिर पुगेका अधिकांशले नरिवल र तयारी मिठाइ कालिकालाई चढाउन लगे पनि केही दर्शनार्थीले मन्दिर छेउमै उत्पादन गरिएको तयारी रोट किनेर चढाउन लैजान थालेका छन् । मनोकामना पूरा भए रोट चढाउन आउँछु भनेर भाकल गरेका भक्तजनले घरबाट रोट नलिएर मन्दिर गेटमा तयारी बनेको रोट किनेर लैजाने प्रचलन रहेको छ । एक दशकयता आयातीत प्रसादले रोटलाई विस्थापित गर्ने अवस्थामा पुगेपछि पाँच वर्षयता कालिका मन्दिरमा रोट बनाउने पसल खुलेको छ । 

रोटको प्रसाद चढाउँछु भनेर भाकल गर्नेले पछिल्लो समयमा नरिवल, खसीबोका, परेवा, कुखुरा र हाँसलगायतको बलि दिने चलन बढेर गएको छ । तर विस्थापित भइसकेको रोट चढाउने परम्परा ब्युँताउनका लागि तयारी रोट उत्पादन गर्ने पसल सञ्चालनमा ल्याएपछि मन्दिरमा आउने दर्शनार्थीमध्ये केहीले रोट लगेर चढाउन थालेका छन् । 

पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि रु ५० लाखभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ । कालिका दर्शन गर्न आउने जोकोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले एकाएक चर्चामा आएको छ । कालिका मन्दिरको गेटमै नरिवल बिक्री गरे जस्तै रोट पनि बिक्री हुन थालेपछि यसकाबारेमा चासो मात्र होइन छुटेको परम्परा पुर्नताजगी भएको छ । चामल, ल्वाङ, सुकमेल, नरिवल र शुद्ध घ्युबाट तयार गरिने रोट पछिल्लो समय मन्दिरको गेटमै किन्न पाइने भएपछि सहज भएको छ । 

 बागलुङ नगरपालिका–१ रामरेखाका डम्मर मल्ल ठकुरीले पछिल्लो पाँच वर्षदेखि कालिका दर्शन रोट पसल नै सञ्चालन गरेर रोट पकाएर बिक्री गर्दै आउनुभएको छ । कालिका मन्दिरको मण्डपमै चढाइने शुद्ध र चोखो मानिने रोट दर्शनार्थीको आँखै अगाडि बनाइन्छ । फूलप्रसाद र नरिवलसँगै आजभोलि रोट पनि उत्तिकै बिक्री हुने गरेको छ । 

 पोहोर सालसम्म बुढापाकाले मात्र रोट किनेर चढाउने गरेको भए पनि यसपटकको नवदुर्गामा भने युवायुवतीले पनि रोट चढाउन लगेको डम्मरले बताए । रोट बनाउन सुरु गरेपछिका हरेक वर्ष कालिका भगवती मन्दिरमा रोट चढाउने भक्तजन बढ्दै गएको उनको भनाइ छ । 

“रोट चलाउने परम्परा हराइसकेको थियो, घरमा बनाएर ल्याउन भक्तजनलाई समस्यासमेत भएको पाइएको थियो, तर त्यसैलाई मध्यनजर गर्दै तयारी रोट बनाउन थालेको हो”, ठकुरीले भने, “अहिले मन्दिर आउनेमध्ये केहीले रोट खोजेरै चढाउन लैजान्छन् ।” अहिले चामलको पिठोमा चिनी, नरिवल, बदाम, काजुजस्ता वस्तु मिसाएर घ्युमा रोट पकाउने गरिन्छ । व्यापारिक रुपमा बनाइएका रोट चार सयका दरले बिक्री गर्ने गरेको उनले बताए । 

images
प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - ०७:२८:१६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology