भरतपुर । गुरुङ समुदायको मौलिक धर्म संस्कार संस्कृति संरक्षणका लागि स्थापित संस्था तमू प्ये ल्हु संघ चितवनको २१ औं वार्षिक साधार सभा सम्पन्न भएको छ । बिहिबार चितवनको भरतपुर स्थित लंकुमा रहेको सगोल पार्टी प्यालेमा भव्य कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।

संघले साधारण पसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका गुरुङ व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानको क्रममा संघले बागमती प्रदेश सभा सदस्य गीता गुरूङको उपस्थितिमा कविलासकी १०४ वर्षीय वृद्धा गोरीमाया गुरूङसहित फरकफरक विधाका व्यक्तिहरुलाई सम्मान गरिएको हो । तमू प्ये ल्हु संघको कविलास इकाइ समितिकी गोरीमाया र गैरीबारी इकाइ समितिमा आवद्ध ९७ वर्षीय रणबहादुर गुरूङलाई नगदसहित ज्येष्ठ नागरिक सम्मान गरिएको हो ।

त्यसबाहेक तमू प्ये ल्हु संघ चितवनकी कार्यसमिति सदस्य माया गुरूङलाई प्रोत्साहनस्वरूप लेखकको रूपमा सम्मान गरिएको हो । उनले तनहुँ जिल्लाको व्यास नगरपालिकाको पुलिमराङका ६ जना शहीदहरूको इतिहाससहित ‘पुलिमराङको नलेखिएको इतिहास’ नामक कृति प्रकाशित गरेकी छिन् ।

यस्तै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालका स्वकीय सचिवमा नियुक्त भएका तमू प्ये ल्हु संघ चितवनका सचिव चित्र ‘सोल्टी’ गुरूङ, तमू प्ये ल्हु संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका संस्थापक अक्षयकोषदाता लालप्रसाद गुरूङलाई सम्मान गरिएको हो ।

स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा हासिल गरेको भन्दै डा आकृति गुरूङ र डा सुवास गुरूङलाई पनि सम्मान गरिएको प्ये ल्हु संघले जनाएको छ । सोही अवसरमा कठार इकाइ समिति, कविलास इकाइ समिति, सूर्यनगर इकाइ समिति र नौरङ्गे इकाइ समितिलाई उत्कृष्ट इकाइ समितिको रूपमा सम्मान गरेको हो ।

संघले जिल्लाभरका तमू समुदायका १७ विद्यार्थीलाई छात्रवृत्तिसमेत वितरण गरेको थियो । तमू सांस्कृतिक प्रतिष्ठानले विभिन्न दाताहरूमार्फत प्राप्त गरेको अक्षयकोषबाट चितवनका १७ जना विद्यार्थीलाई चार वर्षको लागि वार्षिक आठ हजारका दरले एक वर्षको छात्रवृत्ति वितरण गरेको हो ।
कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य गीता गुरूङले तमू समुदायको संस्कार संस्कृतिमा प्ये ल्हु संघको योगदान उच्चस्थानमा रहेको बताइन् । जातीय पहिचान जोगाउनको लागि पनि संस्कार संस्कृतिको संरक्षण आवश्यक रहेको उनले बताइन् ।

तमू समुदायको संस्कार संस्कृति संरक्षणको लागि चितवनमा २०६० सालमा स्थापना भएको तमू प्ये ल्हु संघले हालसम्म ३१ वटा इकाइ समितिमार्फत काम गरिरहेको छ । इकाइ समितिलाई बलियो बनाउँदै जिल्लाभरका तमू समुदायलाई आफ्नो संस्कारमा कटिवद्ध बनाउने प्रयास भइरहेको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

संस्थाले आगामी दिनमा मातृभाषाको कक्षा सञ्चालन गर्ने, सदस्यहरूलाई नेतृत्व विकास तालिम प्रदान गर्ने, लोपोन्मुख संस्कृतिको जगेर्ना गर्नेलगायतका कार्ययोजना बनाएर काम गर्दै संघका सचिव चित्र ‘सोल्टी’ गुरूङले बताए । उनका अनुसार प्ये ल्हु संघ चितवनले केही समयअघि खेगी भेला आयोजना गरेको थियो ।

तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भरतपुर महानगरपालिका ७ का सदस्य मिन बहादुर गुरुङ्ग, केन्द्रिय उपाध्यक्ष तुलाराम गुरुङ्ग, सल्लाहकारहरु भिम बहादुर गुरुङ्ग, जगत गुरुङ्ग लगायतको सहभागीता रहेको थियो ।
