Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

'शून्य होम डेलिभरी' अभियानमा कास्कीको माछापुच्छ्रे गाउँपालिका

'शून्य होम डेलिभरी' अभियानमा कास्कीको माछापुच्छ्रे गाउँपालिका

रासस

८, आश्विन २०८१
'शून्य होम डेलिभरी' अभियानमा कास्कीको माछापुच्छ्रे गाउँपालिका
images

कास्की । माछापुच्छ्रे गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहित गर्दै ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गरेको छ । पालिकाले गर्भवतीको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई न्यून गर्न घरमा हुने सुत्केरीलाई शून्यमा झार्नेगरी नौ वटा वडामा उक्त अभियान सञ्चालन गरेको हो ।

images
images

गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले गर्भवतीको नियमित स्वास्थ्य परीक्षणका साथै आवश्यक अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा १३ र गत आवमा चार जनामात्रै घरमा सुत्केरी भएका छन् ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरीको आकर्षण बढाउने उद्देश्यले ‘सुत्केरी चुलो’, जनचेतना अभिवृद्धिसहित विभिन्न अभिमुखीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष अधिकारीले बताए । 'शून्य होम डेलिभरी पालिका घोषणाको तयारी सुरु गरिसकेका छौँ । सबै वडाहरुमा गर्भवतीको सङ्ख्या दर्ता गरेर ‘उपाध्यक्षसँग गर्भवती सुरक्षा’ कार्यक्रमका बारेमा जानकारी दिइरहेका छौँ,' उनले भने, 'सुत्केरीका लागि अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्दछ भन्ने सन्देश प्रवाह गरेका छौँ ।' 
 
गर्भवती सुरक्षा, पोषण, आमा र शिशुको स्वास्थ्य तथा गर्भावस्थामा देखापर्ने खतराका चिन्ह, यसको व्यवस्थापन, सुत्केरी स्याहार, सुत्केरी चुलो, सुत्केरीलाई यातायात सुविधा, पालिकामा सञ्चालित बर्थिङ सेन्टरलगायत विषयका बारेमा सबै वडाका गर्भवतीलाई जानकारी गराउन अभिमुखीकरण सुरु गरिएको उपाध्यक्ष अधिकारीले बताए । उनका अनुसार पालिकाले दुई वर्षदेखि ‘सुत्केरी चूल्हो’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जाँचका लागि जानलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दाहालले बताए । 'सुत्केरी चूल्हो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसले स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको पाएका छौँ,' उनले भने, 'घरमा हुने सुत्केरीलाई चालु आवमा शुन्यमा झार्ने योजना अनुसार कार्यक्रम गरिरहेका छौँ ।' 

स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार ‘सुत्केरी चुलो’ कार्यक्रममा महिलाले प्रसूतिका बेला खाना, आवास, स्वास्थ्य स्याहारलगायत सुविधा पाउछन् । सुत्केरी र एक जना कुरुवाका लागि खानेकुरादेखि पकाउने भान्छा, भाँडाकुँडा र सुत्ने व्यवस्थासमेत गरिएको उनले जानकारी दिए । 

स्वास्थ्य शाखा प्रमुख दाहालले गाउँपालिकाले प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा आवतजावत गर्दा लाग्ने यातायात खर्चसमेत दिने गरेको बताए । पालिकाका प्रसूति केन्द्रमा सुत्केरी हुन नसकी अन्य अस्पतालमा पठाउनुपरेमा थप यातायात खर्चसमेत दिने गरिएको दाहालले जानकारी दिए। संघीय सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुनेका लागि रु दुई हजार उपलब्ध गराउँदै आएको छ । 

यसबाहेक गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर गर्भजाँच गराउनेलाई यातायात खर्चबापत सुगमका लागि एक हजार र दुर्गमका लागि दुई हजार पाँच सय तथा पोषण खर्च रु एक हजार प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए । 

 

images
प्रकाशित मिति :आश्विन ८, २०८१ मंगलवार - ०९:२०:०३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology