गोरखा, २७ माघ । गोरखामा पछिल्लो समय बलात्कारका घटना बढ्न थालेको छ। पछिल्लो पाँच दिन यता मात्र जिल्लामा ३ वटा बलात्कारका घटना भएको छ। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासको तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो ।
रौतहट घर भई शहिदलखन गाउँपालिका ८ बस्ने रमन मुखियाले माघ २० गते २६ वर्षकी युवतीलाई जवरजस्ती करणी प्रयास गरेको अभियोगमा छानबिन भईरहेको छ । पिडक परिवारको जाहेरीका आधारमा प्रहरीले जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए ।
माघ २१ गते गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका विद्यालयमै बलात्कृत भइन् । बलात्कार आरोप लागेका १३ वर्षका बालक प्रहरीको बाल हिरासतमा छन् । बालिकाको परिवारले २२ गते जाहेरी दिएपछि घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
माघ २४ गते शहिदलखन गाउँपालिका ७ का २५ वर्षीय युबकले १४ वर्षकी बालिकालाई जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् । घरमा कोही नभएको बेला युवतीलाई ललाई फकाई बलात्कार प्रयास गरेको पिडित परिवारले प्रहरीमा जाहेरी दिएको छ । ‘अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ’ एसपी गुरुङले भने ।
पाँच दिनमा बलात्कार र प्रयासका तीनवटा घटना गोरखामा घटेको छ ।
त्यस्तै माघ ८ गते गोरखा नगरपालिका ६ बस्ने २२ वर्षकी युवतीलाई ३० वर्षका पुरुषले बलात्कार गरेको आरोपमा प्रहरीले मुद्धा दर्ता गरेको छ । घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । माघ महिनामा मात्रै बलात्कार र प्रयासका चारवटा घटना गोरखामा घटेको छ ।
‘अहिले घटना बाहिर आउनेक्रम बढेको हो’, गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ भन्छन् ‘पहिले पनि घटना हुन्थ्यो, तर कतिपय गाउँमा मिलाइन्थ्यो होला, कतिपय हामीलाई जानकारीमा नै आउँदैनथ्यो ।’ मानिस सचेत हुँदै गएपछि हिंसाका घटनाको उजुरी गर्ने क्रम पनि बढेको उनले बताए । ‘हामीले थाहा पाएका र उजुरी आएका घटना निश्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउनेछौँ’ उनले भने ।
दरौदीं दैनिबाट