काठमाण्डौ, २५ माघ । सरकारले सुरु गरेको कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण सकिएको छ । भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप अभियान सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्ममा १ लाख ८२ हजार ७ सय ४५ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।
सरकारले माघ २४ गते अर्थात् हिजोसम्म पहिलो चरणको खोप अभियान चलाएको थियो । पहिलो चरणमा लगभग ४ लाख ३० हजारले खोप लगाउने भनिए पनि खोप लगाउनेहरुको सङ्ख्या कम देखिएको छ । कोरोना विरुद्धको पहिलो चरणको खोप लगाउनेहरूको सङ्ख्या कम देखिएपछि खोपमा जनसहभागिता बढाउने रणनीतिमा सरकार अघि बढेको छ । दोस्रो चरणको खोप अभियानमा सहभागिता पनि बढ्ने गरी सूचना सम्प्रेषण बढाउने, मानिसहरूमा भएको अन्यौलता हटाउने तथा खोप केन्द्रहरू बढाउने गरी छलफल अघि बढेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो ।
स्वास्थ्यमन्त्रालयका अनुसार दोस्रो चरणमा जोखिमका आधारमा विभिन्न पेशामा आवद्धहरूलाई खोप लगाइने छ । मन्त्रालयले तय गरेको सूचीमा सुरक्षाकर्मी, यातायातको क्षेत्रमा कार्यरत व्यक्तिहरू, हवाइ क्षेत्रमा काम गर्नेहरू, विद्युत, नापी, मालपोत, बैंक तथा वित्तिय संस्थाहरू र सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई दोस्रो चरणको खोप लगाइनेछ ।