Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

रासस

८, भाद्र २०८३
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

देशी सेनासित लडेको पहिलो युद्धका रुपमा यसलाई लिइन्छ । पहिलो विजयोत्सव मनाउँदा तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित भई कार्यक्रममा सहभागी भएका थिए । सोही समयदेखि उक्त स्थानमा विजयोत्सव मनाउन थालिएकामा स्थानीय तहहरू सक्रिय भएसँगै २०७४ सालयता यसको व्यवस्थापन वडा कार्यालयले नै गर्दै आएको अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो ।

images

नेपालको इतिहासमा विदेशी सेनालाई पहिलोपटक नेपाली भूमिमा पराजित गरेकाले मकवानपुरगढी दरवारको नेपालका अन्य गढीहरूको तुलनामा विशिष्ट महत्वको मानिन्छ । मकवानपुरगढीको लड़ाइँमा गोर्खाली फौजले विजय प्राप्त नगरेको भए नेपाल एकीकरणको महान् अभियान साकार हुन कठिन हुने अनुमानका कारण पनि यस गढीलाई अत्यन्त महत्वका साथ हेर्ने गरिएको छ ।

इतिहासअनुसार प्राचीनकालमा नेपाल एउटा सिङ्गो राज्यका रुपमा नभएर विभिन्न स–साना राज्यहरुमा विभाजित थियो । तत्कालीन समयका राजाहरुले आफ्नो राज्यको सुरक्षाका निम्ति कोट, गढी, किल्लाहरू निर्माण गरी सैनिकहरूलाई तैनाथ गर्ने गर्दथे । तिनै गढीमध्ये मकवानपुर जिल्लाको मकवानपुरगढी पनि एउटा लामो र महत्वपूर्ण इतिहास बोकेको गढी हो ।

नेपालको एकीकरणपूर्व मकवानपुर एउटा स्वतन्त्र र प्रख्यात सेन राज्यका रुपमा चिनिन्थ्यो । पूर्वका तीनवटा सेन राजाहरुले स्थापना गरेका राज्यहरूमध्ये मकवानपुर राज्य पुरानो हो भने मकवानपुरगढी उक्त राज्यको प्रशासनिक, सामाजिक र व्यापारिक केन्द्र हो ।

मकवानपुरगढीको इतिहासलाई जीवन्त राख्दै यसको पर्यटकीय विकास सरकारको प्राथमिकतामा रहेको छ भने दरबारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मकवानपुरगढी गाउँपालिका निरन्तर लागिरहेको वडाध्यक्ष पाख्रिनले जानकारी दिनुभयो । दरबार परिसरमा प्रवेश गर्नका लागि आकर्षक प्रवेशद्वारसँगै दरबारसम्म पुग्नका लागि तलैबाट सिँढीबाटो निर्माण गरिएको छ ।

सिँढीबाट उक्लिने क्रममा सेतो एकदन्ते हात्तीको प्रतिमा देख्न सकिन्छ । हेमकर्ण सेनले आफ्नी छोरीको विवाह गोरखाका युवराज पृथ्वीनारायण शाहसँग गराएका थिए । कन्यादानको अवसरमा छोरीलाई गजमोतीको हार लगाइदिएको, बहुमूल्य उपहारहरू प्रदान गरिएको र वैवाहिक सम्मानस्वरूप नवदम्पतीलाई एकदन्ते सेतो हात्तीमा चढाएर बिदाइ गरिएको विषय विभिन्न वंशावली, लेख र लोककथामा उल्लेख गरिएको पाइन्छ । उक्त समयमा हात्ती आफैँमा शक्ति, सम्पत्ति र राजकीय अधिकारको प्रतीक मानिने र त्यसमा पनि सेतो हात्ती हुनुलाई असाधारण वैभव र उच्च प्रतिष्ठाको सङ्केतका रुपमा लिने गरिएको इतिहासका जानकार बताउँछन् ।

गढी परिसरमा वनभोजस्थलहरू निर्माण गरिएको वडाध्यक्ष पाख्रिनले जानकारी दिनुभयो । “हामीले गढी क्षेत्रमा वनभोज खान आउनेलाई लक्षित गरी विभिन्न सातवटा ‘पिकनिक सेड’हरू बनाएका छौँ,” उहाँले भन्नुभयो, “प्रत्येक सेडको उपयोग गरेबापत एक हजार रुपैयाँ सेवा शुल्क लिने गरिएको छ, ‘ड्राइ पिकनिक’ आउनेका लागि भने रु ५०० सेवा शुल्क निर्धारण गरिएको छ ।” वनभोजका लागि आउनेबाहेक अन्यसँग भने कुनै प्रवेश शुल्क लिने नगरिएको उहाँले जानकारी दिनुभयो ।

पूर्वाधार निर्माणकै क्रममा दरबारको पश्चिमतर्फको भवन पुरातत्व विभागको रु २० लाख लगातमा निर्माण गरिएको छ । दरबार क्षेत्रकै पूर्वाधारका लागि गत वर्ष सङ्घीय बजेट रु तीन करोड विनियोजन भएकामा जेन्जी आन्दोलनपछि उक्त बजेटको कार्यान्वयन रोकिएर अन्ततः बजेट ‘फ्रिज’ भएको उहाँले जानकारी दिनुभयो । “हामीले उक्त बजेटबाट पश्चिमतर्फको निर्मित भवनमा छाना हाल्ने योजना बनाएका थियौँ,” उहाँले भन्नुभयो, “छानापश्चात् त्यहाँ सेनवंशीय राजाहरूसहित नेपाल एकीकरणपछिका विभिन्न ऐतिहासिक सामग्री सङ्कलन गरी सङ्ग्रहालय स्थापना गर्ने लक्ष्य राखिएको थियो ।” वडा कार्यालयको रु ११ लाख बजेटमा गढी परिसरको गङ्गाभीरमा सेनवंशी राजाहरूको स्मारक निर्माण गरिएको छ ।

धार्मिक रुपमा पनि महत्वपूर्ण गन्तव्य

यहाँस्थित वंशगोपाल मन्दिर प्राचीन धार्मिक इतिहास र आस्थाको प्रतीक हो । मन्दिरभित्र रहेका भगवान् कृष्णको मूर्तिलाई फलामे साङ्लोले बाँधेर राखिनुले पनि मन्दिरप्रतिको चासो अझै बढाएको छ । मन्दिरका पुजारी चन्द्रप्रसाद घिमिरेका अनुसार कृष्णको मूर्तिलाई फलामे साङ्लाले बाँधेको सम्बन्धमा रोचक किंवदन्ती छ ।

किंवदन्तीअनुसार सेन राजाहरूले मन्दिरमा स्थापना गरिएका कृष्ण तत्कालीन समयमा दिउँसो मन्दिर भित्रै रहे पनि रातमा त्यहाँबाट विभिन्न ठाउँमा घुम्न निस्कन्थे रे । त्यस समयमा चितवनमा तोरी खेती हुन्थ्यो । उनले रातिराति त्यहाँ पुगेर तोरी माडेकै कारण चितवन माडी भन्ने गरिएको किंवदन्ती रहेको उहाँले जानकारी दिनुभयो ।

कृष्ण राति बाहिर जाने र बिहान मात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उनलाई तत्कालीन समयमा गाउँलेले फलामे साङ्लोले बाँधेर राखेको किंवदन्ती रहेको घिमिरेले जानकारी दिनुभयो । दरबार परिसरमा वंश गोपालसहित पश्चिमतर्फ शिव मन्दिर रहेका छन् । यी मन्दिरमा मनोकामना पूरा हुने विश्वाससहित नयाँ वर्ष, कृष्ण जन्माष्टमी, हरिबोधनी एकादशीलगायतका तिथिमिति एवम् चाडपर्वमा ठूलो सङ्ख्यामा दर्शनार्थीहरू आउने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गढीभित्र वंश गोपाल र शिव मन्दिरसँगै पूर्वमा राजा बस्ने दरबार तथा पश्चिममा पाले पहरा तथा हातहतियार राख्ने भवन रहेको छ । परिसरभित्रै कारागार, खानेपानीको ट्याङ्की आदि रहेको उहाँले जानकारी दिनुभयो । यी प्राचीन महत्वका सम्पदाहरूलाई संरक्षण गरी पुस्तौँसम्म जोगाएर राख्नुपर्ने उहाँले बताउनुभयो ।

कवि कलाकारको पनि रोजाइमा पनि मकवानपुरगढी

इतिहासको गौरवमयी गाथासँगै धार्मिक एवम् पर्यटकीय गन्तव्य बनिरहँदा विभिन्न स्थानबाट कवि तथा कलाकारहरू यहाँ आउने गरेका छन् । कवि तथा कलाकारले यहाँ आएर यहीँको परिवेशमा रमाउँदै आफ्ना रचना सिर्जनासँगै त्यहाँको अवस्थितिलाई कलामा उतार्ने गरेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेन सिंहले आफूले २०७१ साल भदौमा मकवानपुरगढीमा आएर यहाँको दरबारसहितको परिवेशलाई कलामा उतारेको अनुभव सुनाउनुभयो । यस्ता ऐतिहासिक विरासत बोकेका गन्तव्यहरूको संरक्षणसँगै प्रवद्र्धन गर्न सकिएमा त्यसले आन्तरिक पर्यटनसँगै बाह्य पर्यटनको विकास भई राष्ट्रिय अर्थतन्त्रमा विशिष्ट योगदान पु¥याउने उहाँको भनाइ छ । रासस

 
 

images
प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - ११:३१:५१ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology