Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

लन्डनमा ३० अगस्टमा हुने नेपाली मेलाको तयारी पूरा

लन्डनमा ३० अगस्टमा हुने नेपाली मेलाको तयारी पूरा

इच्छाकामना न्युज

८, भाद्र २०८३
लन्डनमा ३० अगस्टमा हुने नेपाली मेलाको तयारी पूरा

लन्डन । तमु धीं यूकेको आयोजनामा लन्डनमा हुने १७औँ नेपाली मेलाको तयारी पूरा भएको छ। आइतबार मिचेटस्थित तमु धीं यूकेको आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले मेलाको तयारी पूरा भएको जानकारी दिएको हो।

images

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ मेला आगामी ३० अगस्ट २०२६ मा लन्डनको केम्पटन पार्क रेसकोर्स मैदानमा आयोजना हुँदैछ। लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा हुने मेलाको प्रमुख अतिथिका रूपमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी सहभागी हुनेछन्।

तमु धीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल कोने गुरुङका अनुसार मेला बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ। मेलामा बेलायतस्थित ४२ नेपाली संघसंस्थाले विभिन्न जातजातिका मौलिक संस्कृति, भेषभूषा र परम्परा झल्कने झाँकी प्रस्तुत गर्नेछन्।

मेलामा सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, खानाका परिकार, व्यापारिक तथा च्यारिटी स्टल र स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ। कुल ७५ स्टल रहने मेलामा करिब ६१ हजार पाउन्ड खर्च हुने र ६४ हजार पाउन्ड आम्दानी हुने आयोजकको अनुमान छ।

झाँकी तथा नृत्य प्रतियोगिताको विजेताले १ हजार ५०० पाउन्डको एम्बासडर कप प्राप्त गर्नेछन्। फस्ट रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउन्ड पाउनेछन्। यस्तै, एनआरएनए कप विजेतालाई ५०० पाउन्ड प्रदान गरिनेछ। बालबालिका तथा वृद्धवृद्धाका लागि प्रवेश निःशुल्क गरिएको छ भने वयस्कका लागि ५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ।

पत्रकार सम्मेलनमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले नेपाली कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाली मेलालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए।

images
प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - १०:५१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology