Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

संसदका गतिविधि हरेक नागरिकसम्म पुर्‍याउनुपर्छ : प्रवक्ता गिरी

संसदका गतिविधि हरेक नागरिकसम्म पुर्‍याउनुपर्छ : प्रवक्ता गिरी

इच्छाकामना न्युज

८, भाद्र २०८३
संसदका गतिविधि हरेक नागरिकसम्म पुर्‍याउनुपर्छ : प्रवक्ता गिरी

काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदका गतिविधि हरेक नागरिकसम्म पुग्नुपर्ने बताएका छन्। 

images
सोमबार काठमाडौँमा आयोजित २४ औँ एआईबीडी साधारण सम्मेलन तथा एशिया–प्रशान्त क्षेत्रीय मिडिया कार्यशालालाई सम्बोधन गर्दै गिरीले समिति बैठक, समितिका क्रियाकलाप तथा संसदका अन्य गतिविधि नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताए। उनले भने,‘संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरुरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।’

गिरीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग व्यापक भए पनि संघीय संसद सचिवालय सामाजिक सञ्जालको प्रयोगमा केही कमजोर रहेको स्वीकार गरे। ‘हामीले गर्न नसकेको चाहिँ अहिले सोसल मिडियामा हामी गइरहेका छैनौँ। खासगरी पछिल्लो समयमा सोसल मिडियाको क्रेज अलि बढी छ, नेपालमा धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसल मिडियामा अलि कमजोर छौँ,’उनले भने

उनले संसदको वेबसाइटमार्फत नियमित रूपमा सूचना प्रवाह भइरहेको र नागरिकले सूचनाको हक प्रयोग गरी माग गरेका सूचना समयमै उपलब्ध गराउँदै आएको बताए। गिरीले आगामी दिनमा सांसदहरूको हाजिरीलगायतका विवरण वेबसाइटमा लाइभ रूपमा अद्यावधिक गर्ने योजना रहेको जानकारी दिए। उनले संसद नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा सचिवालय सचेत रहेको बताए।

उनले भने,‘हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। कुनै पनि नागरिकले आरटिआईको प्रयोग गरेर सूचना माग गर्नुभयो भने हामीले सूचनाहरू समयमै उपलब्ध गराएकै छौँ।जसरी सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ, त्यसै गरेर संसद चाहिँ नागरिकप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा सचेत छौँ।’

गिरीले संघीय संसदको खुलापन तीनवटा आधारभूत विषयमा केन्द्रित रहेको बताए। उनले नयाँ संसद भवनमा सरेपछि सञ्चारकर्मीका लागि संसदभित्रै सिट उपलब्ध गराउने योजना रहेको बताए। सदनको गतिविधि हेर्न चाहने नागरिक तथा विद्यार्थीका लागि पनि आवश्यक व्यवस्था गरिने उनको भनाइ छ।

गिरीले संघीय संसद सचिवालयले विभिन्न दुर्गम जिल्लामा पुगेर विद्यार्थीलाई नमुना संसदका बारेमा जानकारी दिँदै आएको पनि बताए। उनका अनुसार नेपालको संसद विगतको तुलनामा क्रमशः थप खुला हुँदै आएको छ। संसदको खुलापन मापन गर्ने एसिया पार्लियामेन्ट्री ओपनेस इन्डेक्सका ३१ सूचकमध्ये नेपालले करिब २५ देखि २६ वटा सूचक पूरा गरिसकेको उनले बताए।

‘एसिया पार्लियामेन्ट्री ओपनेस इन्डेक्स छ। त्यसले ३१ वटा सूचकलाई मानेर पार्लियामेन्ट कसरी खुला हुन्छ भनेर भनेको छ। ती ३१ वटा सूचकरूप्रति हामी सचेत छौँ। हाम्रो पार्लियामेन्टले झन्डै २५–२६ वटा सूचक त पूरा नै गरिसकेको छ,’उनले भने । गिरीले आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई अझ व्यापक बनाउँदै संसदका गतिविधि र सूचनामा आम नागरिकको पहुँच विस्तार गर्ने बताए।

images
प्रकाशित मिति :भाद्र ८, २०८३ सोमवार - १३:४१:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology