Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नारायणीकिनारको नमुना गाउँमा आगलागी : घटनामाथि यथाशीघ्र छानबिन गर्न नेफिनको माग

नारायणीकिनारको नमुना गाउँमा आगलागी : घटनामाथि यथाशीघ्र छानबिन गर्न नेफिनको माग

images

इच्छाकामना न्युज

२८, चैत्र २०८०
नारायणीकिनारको नमुना गाउँमा आगलागी : घटनामाथि यथाशीघ्र छानबिन गर्न नेफिनको माग
images

नारायणगढ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदीकिनारमा भएको घटनाप्रति निन्दा व्यक्त गरेको छ । महासंघले निर्माण गरेको आदिवासी जनजाति समुदायको अस्थायी घरमा सोमबार राति अज्ञात समूहले आगो लगाएको भन्दै महासंघले उक्त घटनामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउन सुरक्षा निकायसँग मागसमेत गरेको छ ।

शनिबार राति करिब ९ बजेको समयमा आगो लागेपछि महोत्सव स्थलमा निर्मित दुरा जातिको घरबाहेक सबै घर जलेर नष्ट भएको छ । आगो लाग्दै गर्दा दमकलको सहायतामा आगो नियन्त्रणमा लिएपछि दुरा जातिको घर जोगिएको आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए । ‘मैले खबर पाउँदा राति साढे ९ बजिसकेको थियो । करिब १० बजेतिर आइपुग्दा दुरा जातिको घरबाहेक सबै घरमा आगो लागिसकेको थियो’, उनले भने, ‘दमकलले आगो नियन्त्रणमा लिएपछि दुराको घर जल्न पाएन ।’

नदीकिनारमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्दा निर्माण गरिएका ११ वटा घरमध्ये दसवटा घर जलेर खरानी भएको छ । गुरूङ, मगर, दुरा, बोटे, कुमाल, दराई, थारु, तामाङ, चेपाङ, राई र भुजेल जातिका घर निर्माण भएका थिए । यस्तो क्रियाकलापमा संलग्न जोकोही भए पनि राज्यको नियमनकारी निकायले खोजी गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । ‘यहाँ सिङ्गो आदिवासी जनजातिको मन पोलेको छ’, उनले भने, ‘महोत्सव सकिएपछि यी घरहरुलाई के गर्ने भन्ने विषयमा स्थानीय सरकारसँग छलफल चलिरहेको थियो ।’

उनका अनुसार ११ जातिको छुट्टाछुट्टै घर निर्माण गर्दा करिब १२ लाख रूपैयाँ खर्च भएको छ । त्यसमा मजदुरको ज्यालासहित गर्दा करिब १५ देखि १६ लाख रूपैयाँको हाराहारीमा खर्च भएको अध्यक्ष दुराको भनाइ छ । चितवनमा संगठित १७ वटा आदिवासी जनजातिमध्ये ११ वटा जातिले महोत्सवका लागि घर निर्माण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले भने घटनाबारे अनुसन्धान चलिरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं सूचना अधिकारी श्रीराम भण्डारीका अनुसार उक्त घटनाबारे अनुसन्धान गर्नका लागि समिति गठन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ । ‘११ मध्ये नौवटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । एउटामा आंशिक क्षति भएको छ’, उनले भने, ‘घटना भएको थाहा पाएपछि तत्काल दुईवटा दमकल लगेर आगो निभाउँदा एउटा घर जोगिएको छ ।’

तर, महोत्सवको आकर्षण र परिचयका लागि निर्माण गरिएको अस्थायी घर भएको हुँदा घटनामा के–कति क्षति भयो भन्ने कुरा यकिन नभएको उनले बताए । ‘तर, घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ’, उनले भने, ‘वडा प्रहरी कार्यालय नारायणगढबाट निगरानी भइरहेको छ । आवश्यक समन्वय र सहयोग हामीले गरिरहेका छौँ ।’

आफूले निर्माण गरेको घर क्षणभरमै खरानी बनाइदिएपछि चितवन जिल्लाका विभिन्न जातजातिले सुरक्षा निकायसँग छिटोभन्दा छिटो अनुसन्धान गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको छ । यो घटनाले समग्र आदिवासी जनजाति समुदायको भावनामाथि ठेस पुगेको तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनका सचिव किशोर गुरूङले जानकारी दिए । नेफिन चितवनले आदिवासी जनजाति समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने लक्ष्यसहित चैत ९ देखि २१ गतेसम्म नदीकिनारमा महोत्सव आयोजना गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र २८, २०८० बुधवार - ०८:४९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology