दमौली । दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले व्यास नगरपालिकामा कार्यरत विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई अक्षर राम्रो लेखन तालिम प्रदान गरेको छ । तालिममा सत्यवती मावि सहित विभिन्न २७ विद्यालयका शिक्षकहरु सहभागी रहेका थिए ।
तालिमको व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा विद्यालयका संरक्षक काशीराम श्रेष्ठले उद्घाटन गर्दै शिक्षक स्वएम्ले राम्रो अक्षर लेख्न सिपालु बन्न सके विद्यार्थीलाई पनि राम्रो अक्षर लेख्न प्रेरणा जाग्ने बनाउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देलले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सहायक प्रअ अनिल श्रेष्ठले गर्नु भएको थियो ।
शिक्षकले राम्रो अक्षर बनाउने तालिम लिए पछि विद्यार्थी पनि राम्रो अक्षर कसरी लेख्ने भन्ने बारेमा सिकाउन सजिलो हुने हुँदा तालिम प्रदान गरिएको प्रधानाध्यापक पुष्पकला भट्टराईले बताउनुभयो । तालिमको प्रायोजन ग्रिन बुक्स पब्लिकेशनले गरेका थियो भने वामदेव योगीले प्रशिक्षण दिनु भएको थियो । एक दिने सो तालिममा अंग्रेजी र नेपाली दुवै विषयमा कसरी राम्रो लेख्ने भन्ने बारेमा जानकारी दिईएको थियो ।