Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘प्रेमी’ले गोप्य भिडिओ भाइरल बनाएपछि १६ वर्षीया पशुपतिले त्यागिन् संसार

‘प्रेमी’ले गोप्य भिडिओ भाइरल बनाएपछि १६ वर्षीया पशुपतिले त्यागिन् संसार

इच्छाकामना न्युज

१६, चैत्र २०८०
‘प्रेमी’ले गोप्य भिडिओ भाइरल बनाएपछि १६ वर्षीया पशुपतिले त्यागिन् संसार
images

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ पातलीकी १६ वर्षीया पशुपति महरा गत आइतबार बिहान मृत भेटिइन्। पशुपति घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्। 

images
images

पशुपति घरमा आमा र भाइसँग बस्थिन्। बुवा कामको सिलसिलामा भारतमा थिए। छोरीको दुःखद् घटनापछि हाल उनको बुवा घर फर्किसकेका छन्।

पशुपतिलाई गुमाउँदा महरा परिवार विक्षिप्त छ। पशुपति कफलकोटस्थित रौलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्थिन्।

प्रकाश बलायर नामका युवकसँग उनी ‘प्रेम सम्बध’मा थिइन्। यसबारे पशुपतिको परिवारलाई भने जानकारी थिएन। उनीहरूले एकआपसमा फेसबुकको पासवर्डसमेत साटासाट गरेका थिए।

फेसबुक म्यासेन्जरमा उनीहरूबीच कुराकानी भइरहन्थ्यो। मायामा चुर्लम्म डुबेकी पशुपतिलाई ललाईफकाई भिडिओ कलमा नग्न हुन बाध्य पारिन्छ। त्यस्ता भिडिओ र तस्बिर फेला परेका छन्। 

पशुपतिका ती गोप्य भिडिओ र तस्बिर फेसबुक म्यासेजर ग्रुपमा पठाइयो। बेइज्जत भएपछि पशुपति आत्महत्याको बाटो रोज्न बाध्य भएको पारिवारिक स्रोत बताउँछ। 

‘ऊ सोझी थिई। सम्बन्धका बारेमा घरमा थाहा थिएन। राति फोन गर्ने रहेछ,’ पारिवारिक स्रोत भन्छ, ‘शनिबार बेलुका ६ बजेतिर भिडिओ ग्रुपमा पठाएको रहेछ। त्यसपछि समाजमा बेइज्जती हुन्छ भनेर राति नै अप्रिय निर्णय लिएको देखिन्छ।’ 

पशुपतिको कोठामा भेटिएको कापीमा ‘प्रकाश बलायर र उनको पासवर्ड’ लेखिएको पाइएको छ। यस्तै पशुपतिले आत्महत्या गर्नुअघि दुई पाना लामो सन्देश छाडेकी छन्। 

उनको कोठामा पाइएको उक्त सन्देशमा परिवारका सदस्य र इष्टमित्रलाई सम्झदै क्षमा मागेकी छन्। आत्महत्याको कारण भने खुलाएकी छैनन्।

आमालाई बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन्। उनले लेखेकी छन्, ‘...भाइको  गायक बन्ने सपना पूरा गरिदिनू है...।’

पीडित परिवारले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका गोप्य ‘भिडिओका स्क्रिन सट’लगायत सम्पूर्ण विवरण प्रहरीलाई बुझाएको छ।

उनीहरूले घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कारबाही माग गरेका छन्।

ती युवकविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिने पीडित परिवारले तयारी गरेको छ। घटनालगत्तै पीडित परिवारले सत्य, तथ्य छानबिनका लागि ठाडो उजुरी दिएको थियो।

पशुपतिको मोबाइल खल्तीमै भेटिएको थियो। मोबाइल परीक्षणका लागि काठमाडौँस्थित डिजिटल फरेन्सिक ल्याबमा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। 

जिल्ला प्रहरी कार्यालय बैतडीले यो घटनाको प्राविधिक पाटोसहित सूक्ष्म रूपले अनुसन्धान गरिरहेको छ।

‘मोबाइल परीक्षणका लागि ल्याबमा पठाएका छौँ। प्राविधिकसहित विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी निरीक्षक केसीले भने।

images
प्रकाशित मिति :चैत्र १६, २०८० शुक्रवार - ०८:००:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology