भरतपुर । भरतपुर महानगरपालिका वडा नं-२९, जुगडीस्थित नारायणगढ मुग्लिन सडकखण्डमा बसलाई मिनी ट्रकले ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९७०६ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८८७२ नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिँदा बसमा सवार अछाम बान्निगढी जयगड गाउँपालिका वडा नं-३ बस्ने २५ वर्षीया मीठु साउद, धादिङ गजुरी गाउँपालिका वडा नं-१ बस्ने ५३ वर्षीया देवी तामाङ, बसका सहचालक चितवन रत्ननगर नगरपालिका वडा नं-१२ बस्ने २८ वर्षीय सुनिल बिक घाइते भएका छन् ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधनमा क्षति भई घटनास्थलमै रहेको र दुवै चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।