चितवन । अंग्रेज सैनिकहरुले नेपाली सैनिकलाई हराउन नसकेपछि भएको सन् १८१५ को सुगौली सन्धी पछि विदेशमा नेपालीहरुलाई गोर्खा सैनिकको रुपमा भर्ती गर्न सुरु गरियो । यसरी नै झण्डै २०८ वर्षदेखि नेपाली युवाहरु विदेशी सेनामा भर्ती भएर लड्ने गरेको इतिहास रहेको छ । गोर्खा सैनिक इतिहास अन्तर्गत प्रथम र दोस्रो विश्वयुद्धमा विदेशी सेनामा भर्ती भएर लडाई लडेका गोर्खा सैनिकहरुले लडाईमा देखाएको विरताको अहिले पनि विश्वभर चर्चा हुने गरेको छ । तर पछिल्लो समय विस्तारै गोर्खा भर्ती हुन छोडेको छ । यो सँगै गोर्खा सैनिकको इतिहास मेटिदै जादै जाने होकी भन्ने चिन्ताले गोर्खा सैनिकको इतिहास संरक्षण गर्नको लागि पूर्व गोर्खा सैनिकहरुको एक समूहले चितवनबाट महाअभियान सुरु गरेको छ । गोर्खा बिर्गेट नेपाल नामक संस्था स्थापना गरि चितवनबाट यो अभियान सुरु गरिएको हो ।

गोर्खा बिग्रेटले सोमबार चितवनको भरतपुर स्थित तीनखोले गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरि गोर्खा सैनिकको इतिहास संरक्षण महाअभियानको समुद्घाटन गरिएको हो । संस्थाको तदर्थ समिति संयोजक मेजर चोक बहादुर थापाको सभापतित्वमा समुद्घाटन गरिएको कार्यक्रममा करिब २ सय जना भारत र बेलायती सेनामा कार्यगरी अवकास प्राप्त भूपूसैनिकहरुलाई सहभागी गराईएको थियो । संस्थाका उपाध्यक्ष सुवेदार रुद्र बहादुर गुरुङले स्वागत मन्तव्य तथा सचिव सुवेदार गोपाल बहादुर थापाले संचालन गरेको कार्यक्रममा मन्तव्य प्रस्तुत गर्ने अधिकांश भूपू सैनिकहरुले २०८ वर्षदेखिको गोर्खा सैनिकको विरताको इतिहास संरक्षण गर्नुपर्नेमा जोड दिदै यसका लागी सबै गोर्खा भूपू सैनिकहरु एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरु जिज्ञासा र अभियानका बारे सम्बोन्धन गर्दै गोर्खा बिर्गेट नेपालका संयोजक मेजर चोक बहादुर थापाले संस्था स्थापना र महाअभियानका बारे जानकारी दिनुभएको थियो । उहाँले सबै भूपू सैनिकहरुलाई एक गर्दै गोर्खा सैनिकको इतिहास संरक्षणका लागि सुरु गरिएको यो महाअभियानमा जोडिन सबै गोर्खा सैनिकहरुलाई अपिल गर्नुभयो ।

‘हामी गोर्खा सैनिकको इतिहासको संरक्षण हामी आफैले गर्ने हो, यसैले यो महाअधियानमा तपाई हामी सबै गोर्खा सैनिकहरु एक ढिक्का भएर लागिपर्नुपर्छ’ –उहाँले भन्नुभयो । अभियान अन्तर्गत गोर्खा सैनिकको शहिद स्मारक बनाउने तयारी भैरहेको बताउनुभयो । यसका लागि संस्थाले ६५ प्रतिशत भूपूसैनिकहरुको लगानीमा निर्माण भै संचालनमा आएको हालको चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ साविकको दाहाखानी गाविसमा रहेको दाहाखानी नेचर रिसोर्टको नजिकै करिब ६ बिगाहा जग्गा हेरिएको उहाँले बताउनुभयो । स्मरण रहोस् दाहाखानी दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खा सैनिक लक्ष्मण गुरुङको जन्मभूमी हो ।

यस्तै यो अभियान चितवनबाट सुरु भएपनि देशैभरी र विश्वभरसम्म पु¥याउने लक्ष्य लिएको संयोजक मेजर थापाले बताउनुभयो । ‘यो अभियानमा विश्वभर रहेका भूपू गोर्खा सैनिकहरु जोडिन सक्नेछन्’ –उहाँले भन्नुभयो ।

यो संस्था यहि २०८० माघ २ गते चितवनमा स्थापना भएको हो । हाल ११ जनाको तदर्थ समिति रहेको संस्थाको उपाध्यक्षमा सुवेदार रुद्र बहादुर गुरुङ, सचिवमा सुवेदार गोपाल बहादुर थापा, कोषाध्यक्षमा हवल्दार बुद्धि बहादुर गुरुङ, सदस्यहरुमा हवल्दार नायब सुब्बा जगत बहादुर गुरुङ, हवल्दार जग बहादुर पुन, हवल्दार क्याप्टेन लाल बहादुर थापा लगायत रहेका छन् ।