Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पुस १५ मा तमू ल्होसार मनाउने तयारीमा तमू ह्युल छोंज धीँ चितवन, भव्य कार्यक्रम आयोजना गरेर मनाइँदै

पुस १५ मा तमू ल्होसार मनाउने तयारीमा तमू ह्युल छोंज धीँ चितवन, भव्य कार्यक्रम आयोजना गरेर मनाइँदै

इच्छाकामना न्युज

१३, पौष २०८०
पुस १५ मा तमू ल्होसार मनाउने तयारीमा तमू ह्युल छोंज धीँ चितवन, भव्य कार्यक्रम आयोजना गरेर मनाइँदै
images

भरतपुर । यतिबेला चितवनका गुरूङ समुदाय तमू ल्होसार मनाउनमा व्यस्त छन्। टोलटोलमा ल्होसारका कार्यक्रम हुन थालेका छन्। गुरूङ समुदायकै छाता संस्था तमू ह्युल छोंज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनले भने भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा ल्होसार मनाउने तयारी गरिरहेको छ।

विगतका वर्षहरूमा भन्दा यसवर्ष बृहत् बनाउने गरी तयारी भइरहेको ह्युल छोंज धीँ चितवनले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। वर्ग चक्रअनुसार यसवर्ष बिरालो वर्गलाई बिदाइ गर्दै गरूड वर्गको स्वागत गर्ने तयारीमा रहेको ह्युल छोंज धीँले मौलिक लोक संस्कृति संरक्षणमा विशेष ध्यान दिँदै आइरहेको छ। सोहीअनुसार यसवर्ष पनि मौलिक लोक संस्कृतिलाई प्राथमिकतामा राखेर तयारी गरिरहेको ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले बताइन्।

‘कतिपय लोक संस्कृति हराउने अवस्थामा आइपुगेको छ। त्यसैले नयाँ पुस्तालाई जानकारी गराउनको लागि पनि हामीले मौलिक संस्कृतिलाई स्थान दिनुपर्छ,’ उनले भनिन्, ‘किनकि मौलिक लोक संस्कृति हाम्रो पहिचान हो। हाम्रो अस्तित्व हो।’

पुस १४ गते राति १२ बजेपछि बिरालो वर्गलाई बिदाइ गर्दै गरूड वर्गलाई स्वागत गर्ने र १५ गते दिनभर विभिन्न खालका सांस्कृतिक कार्यक्रम गरेर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको उनले बताइन्। ह्युल छोंज धीँको केन्द्रदेखि इकाइसम्म र मातहतका भातृ तथा शुभेच्छुक संस्थाहरूलाई समेत समेटिने गरी कार्यक्रम गर्दै आएको उनको भनाइ छ।

वर्ग फेरिएपछि नयाँ वर्गको स्वागतसँगै १५ गते बिहान महाबौद्ध गुम्बामा लामा गुरूहरूबाट आशिर्वाद ग्रहण गराउने कार्यक्रम रहेको उनले बताइन्। गुरूङ समुदायको लागि महत्त्वपूर्ण उत्सवको रूपमा लिइँदै आएको ल्होसार पर्वलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि ह्युल छोंज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङको संयोजकत्वमा ५०५ सदस्यीय मूल आयोजक समिति र विभिन्न शीर्षकमा २२ वटा उपसमिति गठन गरेर तयारी गरेको हो।

१४ गते राति विद्यार्थीको कार्यक्रम
विगतका वर्षजस्तै यसवर्ष पनि पुस १४ गते राति ह्युल छोंज धीँअन्तर्गत विद्यार्थी संगठन नेपाल तमू (गुरूङ) विद्यार्थी छोंज धीँ चितवनले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। विद्यार्थी छोंज धीँ चितवनका अध्यक्ष सुमित गुरूङका अनुसार कार्यक्रममा जिल्लाभरका विद्यार्थीहरूले सांगीतिक प्रस्तुति दिनेछन्।

साँझ सूर्य अस्ताएसँगै सुरू गरिने कार्यक्रम राति १२ बजेसम्म चल्नेछ। त्यसपछि भने वर्ग फेरिएको सङ्केत गर्दै दीप प्रज्वलन गरेर नयाँ वर्गलाई स्वागत गरिने विगतको परम्परा छ । यसवर्ष पनि सोही कार्यलाई निरन्तरता दिने ह्युल छोंज धीँ चितवनका सचिव किशोर गुरूङले जानकारी दिए ।

images
images

विशिष्ट व्यक्तिलाई सम्मान गरिने
ह्युल छोंज धीँ चितवनले तमू ल्होसारको अवसर पारेर विभिन्न विधामा उच्च स्थान हासिल गरेका चितवनवासी तमूहरूलाई सम्मान गर्ने भएको छ। सम्मान तथा अभिनन्दन उपसमितिका संयोजक एवम् ह्युल छोंज धीँ बागमती प्रदेशका संयोजक गणेशबहादुर गुरूङका अनुसार जुनसुकै विषयमा विद्यावारिधी (पिएचडी) उपाधी प्राप्त गरेका, पत्रकारिता क्षेत्रमार्फत राष्ट्रियस्तरको योगदान दिएका, निजामति सेवामा प्रथम स्थान वा सो सरहको योगदान गरेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पदक जितेका खेलाडीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।

त्यसका साथै विभिन्न खालका खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिता र रक्तदानजस्ता सामाजिक कार्यक्रमले समेत यस वर्षको ल्होसारमा निरन्तरता पाएको छ।  

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - २३:३३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology