गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा दर्बिलो बन्दा आफ्नो नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राको क्रममा शुक्रबार साँझ गोरखाको पालुंटार आइपुगेका अध्यक्ष ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै बामपन्थी खोल ओढेकालाई नै प्रयोग गरेर सरकार ढलाइएको दाबी गरे ।
‘५८ बर्षदेखि हाम्रो लिपुलेक, लिम्पियाधुरा भारतले नियन्त्रणमा लिएको थियो, कब्जा गरेको थियो । त्यस विषयमा कसैले चर्चा गरेको थिएन’, उनले भने, ‘त्यसलाई नेकपा एमालेले गम्भीर चर्चाको विषय बनायो । नयाँ नक्शा बनायो । नक्शा पास ग¥यो र त्यसलाई अनुमोदन गर्न भारतलाई पत्राचार ग¥यो । हाम्रो जमिन कब्जा गरिरहनु भएको रहेछ, फिर्ता गर्नुस् भन्यो । एमाले त्यसकारण सरकारबाट ढल्यो । एमालेलाई ध्वस्त पार्न खोजियो ।’
बामपन्थी आन्दोलन भनेर दुईतिहाइको सरकार बनाएको तर बामपन्थीकै खोल ओढ्नेहरु एमाले ध्वस्त पार्ने अभियानमा लागेको उनको आरोप छ । ‘बामपन्थीको नेतृत्वमा दुई तिहाइको सरकार थियो । सात प्रदेशमध्य छ वटामा बामपन्थी नेतृत्वमा सरकार थियो । त्यसलाई ध्वस्त पार्ने अरु कोही होइनन्, बामपन्थीको खोल ओढ्नेहरु नै हुन्’, उनले भने, ‘अहिले के बुझ्न जरुरी छ भने, सबै मिलेर एमालेलाई समाप्त पार्न खोज्दा पनि अहिले सबैभन्दा लोकप्रिय पार्टी एमाले नै हो । यति पर्याप्त छैन । नेकपा एमाले मुलुकलाई संवृद्ध बनाउन चाहन्छ ।’
अध्यक्ष ओली शुक्रबार गोरखा सदरमुकाममा रहने र शनिबार गोरखाको आरुघाट, धादिङको मध्यपहाडी लोकमार्ग हुदै अघि बढ्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।