Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दुईतिहाइ विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दुईतिहाइ विश्वासको मत

इच्छाकामना न्युज

१, कार्तिक २०८०
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दुईतिहाइ विश्वासको मत
images

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज भएको मतदानमा उहाँले दुई तिहाईभन्दा बढी मत पाउनु भएको छ ।

images
images

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो ।

मुख्यमन्त्री कार्कीका पक्षधर नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र जसपाका एक सहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा गर्नुभयो ।

विश्वासको मतको प्रस्ताव पेश गर्दा छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निर्माण गर्दा संविधानको सबै धारा प्रयोग भइ अहिलेको अवस्थामा आएको बताउनुभयो । मिलेर काम गर्न तथा सङ्घीयतालाई बलियो बनाउन अहिलेको विकल्प नै उत्तम भएको बताउँदै उहाँले सहमति, सहकार्य र एकताको संस्कृतिलाई बचाउन नै आफ्नो पार्टीले विश्वासको मत दिने स्पष्ट पार्नुभयो ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा, एकीकृत समाजवादी संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, माओवादी केन्द्र संसदीय दलकातर्फबाट दुर्गा चापागार्इँ राजनीतिक स्थिरता र विकासका लागि यो सरकारलाई विश्वासको मत दिने बताउनुभएको थियो । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो पार्टी विश्वासको मतको विपक्षमा रहने बताउनुभयो । उहाँले सरकारको राम्रा कामका समर्थन र नराम्रो कामको आलोचनासहित जनतामाझमा जाने प्रतिक्रिया दिनुभयो ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री कार्कीले सुशासन र समृद्धिलाई सँगसँगै लैजान विश्वासको मतको कदर गर्ने बताउनुभयो । उहाँले प्रदेशलाई विकासमा नमुना बनाउन विश्वासको मतलाई विश्वासघात नगर्ने विश्वास दिलाउनुभयो । अर्को सूचना जारी नभएसम्म प्रदेश सभाको बैठक स्थगन भएको उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १९:४१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology