Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर २९ को भार्लाङमा सिँचाइ सुविधा : बाह्रैमास तरकारी खेती

भरतपुर २९ को भार्लाङमा सिँचाइ सुविधा : बाह्रैमास तरकारी खेती

इच्छाकामना न्युज

१२, भाद्र २०८०
भरतपुर २९ को भार्लाङमा सिँचाइ सुविधा : बाह्रैमास तरकारी खेती

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।

images

महानगरपालिकाका प्रमुख दाहालले सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको बताउनुभयो । उहाँले महानगरपालिकाले सिँचाइलाई प्राथमिकतामा राख्दै काम गर्दैआएको बताउनुभयो । ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । सबै क्षेत्रमा सिँचाई सुविधा पु¥याउन महानगरपालिका लागिपरेको छ,’ प्रमुख दाहालले भन्नुभयो ।

महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको प्रमुख दाहालले बताउनुभयो ।

उक्त आयोजनाका इन्जिनियर विजयराज न्यौपानेले सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएको जानकारी दिनुभयो । मुख्य पाइप लाईन विस्तारमा रु ४३ लाख, ट्याङ्की निर्माणमा रु २० लाख र शाखा पाइपलाईन विस्तारमा रु आठ लाख खर्च भएको छ । आयोजनाको काम २०७८ सालदेखि सुरु भएको हो ।

भार्लाङका चित्रबहादुर गुरुङ सिँचाइ सुविधा पुगेपछि व्यवसायीकरुपमा कृषि कर्म थालिएको बताउनुहुन्छ । उहाँ आफै पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न थाल्नुभएको छ । विगतमा जेततेन दुई कठ्ठामा मात्र धान रोप्दै आएका गुरुङले अहिले नौँ कठ्ठामा रोप्नुभएको छ ।

“सिँचाईको अभाव थियो । यहाँ कोदो, मकै, गहत, मास मात्र उब्जनी हुन्थ्यो,’ ट्याङ्की निर्माण गर्न जग्गासमेत दिएका गुरुङले हराभरा भएको खेत देखाउँदै भन्नुभयो, “अहिले मकै भाँचेर धान रोपेको छु । धान काटेपछि तरकारी खेती गर्ने योजना छ ।”

सिँचाइ कुलो नहुँदा हिँउदे खेती लगाउन नपाएर पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भार्लाङ टोल विकास संस्थाका अध्यक्ष मिलन श्रेष्ठ बताउनुहुन्छ । ‘मकै, कोदो लगाउँथ्यौँ । तरकारी र धान रोप्न पानी नहुने, उहाँले भन्नुभयो, “यसवर्ष आठ कठ्ठामा धानसमेत रोपेको छु । अहिलेसम्म राम्रो देखिएको छ ।’ उहाँले तरकारी खेतीको समेत विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।

भरतपुर महानगरपालिकाको सहयोगमा करिब तीन किलोमिटर दुरीमा रहेको भार्लाङ खोलाबाट बस्तीमा सिँचाइका लागि पानी ल्याइएको छ । खोलाको पानी ट्याङ्कीमा संकलन हुन्छ । ट्याङकीको क्षमता डेढ लाख लिटरको छ । त्यहाँबाट पाईमार्फत किसानको खेत खेतमा पानी पु¥याइएको उहाँले बताउनुभयो । भरतपुर–२९ का वडा सदस्य डिल कुमार श्रेष्ठले कोदो र मकै मात्र हुने गाउँमा सिचाइँको सुविधापछि धान र बाह्रै मास तरकारी फल्ने गरेको बताउनुभयो । उहाँले हरेक महिना गाउँघर हरियाली भएको भन्दै सबै स्थानिय व्यवासायिक रुपमा तरकारी खेतीमा लागेको जानकारी दिनुभयो ।

भरतपुर–२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले भैगोलिक रुपमा विकट रहेको वडालाई कृषि र पर्यटन मार्फत संमृद्ध बनाइने बताउनुभयो । उहाँले आवश्यकताका आधारमा वडाका अन्य क्षेत्रमा पनि सिचाइँ सुविधा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

images
प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - २१:४७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology