चितवन । रङ र रुटको प्रयोगमा समस्या देखिएको ‘ब्लु बस’ को रुट परिवर्तनका लागि प्रक्रिया सुरु भएको छ । तर नयाँ रङ परिवर्तन गर्दाको भ्याट बिलसमेत राखेर यातायात कार्यालयमा निवेदन दिनुपर्ने भएका कारण रङ परिवर्तनका लागि सोमबार निवेदन पर्न सकेन ।
पत्रु बनाउनुपर्ने ना २ च ५६१९ एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी ‘मोबाइल क्लिनिक’ सञ्चालन गरेको र अर्को एक भाडाको बसलाई पनि गैरकानुनी रूपमा रङ परिवर्तन गरी इजाजत नपाएको रुटमा सञ्चालन गरेको पाइएपछि किस्तामा गल्ती सच्याउने काम भइरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दालाई लाभ दिने गरी दलगत राजनीतिक उद्देश्य प्राप्तिका लागि गरिएका काम सच्याउन प्रक्रिया थालिएको हो । यसबारे गोरखापत्रले निरन्तर समाचार प्रकाशन गरेकामा उहाँले यी कार्यमा कुनै समस्या नरहेको दाबी गर्नुभएको थियो ।
महिलाका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुभएको ना ५ ख ३१३८ नम्बरको ‘ब्लु बस’ चितवनमा चल्ने गरी रुट इजाजतका लागि प्रक्रिया सुरु गरिएको अध्यक्ष लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले बताउनुभयो । उहाँका अनुसार सचिवालयकै सक्रियतामा बस धनी भीमबहादुर तमाङले यातायात व्यवस्था कार्यालय भरतपुरमा प्रक्रियाका लागि निवेदन दिएका जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।