Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ संरक्षणका लागि सडक नाटक

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ संरक्षणका लागि सडक नाटक

रासस

१७, जेठ २०८०
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ संरक्षणका लागि सडक नाटक
images

भरतपुर । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ । बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उहाँले बाघका बारेमा झन् ज्ञान बढेको बताउनुहुन्छ ।

images
images

स्नातक तह अध्ययन गरिरहनुभएकी स्याङ्ताङलाई चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिले नाटक प्रस्तुत गर्नका लागि एक हप्ताको तालिम प्रदान गरेको हो । बाघ संरक्षणका लागि सडक नाटक लिएर उहाँ अहिले आफ्नो गाउँको चोक–चौतारामा पुग्ने गर्नुभएको छ । यो अभियानमा स्याङ्ताङ एक्लो हुनुहुन्न । उहाँसँगै गाउँका १४ किशोरकिशोरी पनि सडक नाटक देखाउन सहभागी हुने गरेका छन् । उनीहरूले पनि स्याङ्ताङले जस्तै तालिम लिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्साको एक मात्र उपभोक्ता समिति हो निर्मल ठोरी । “गाउँमा बाघले निकै दुःख दिन्छ । बाघकै कारण बर्सेनि धनजनको क्षति हुने गरेको छ । तर हामी बाघकै संरक्षणमा जुटेका छौँ”, स्याङ्ताङले भन्नुभयो, “हामी विवेकशील प्राणी हौँ, यसकारण पनि बाघको संरक्षण गर्नुपर्छ ।” उहाँले गाउँका चोक–चौतारामा सडक नाटक देखाएर जनचेतना फैलाउँदा धेरैले बाघ संरक्षणको बारेमा जान्ने मौका पाएको बताउनुभयो । ठोरीमा १२ वर्षदेखि १९ वर्षका किशोर–किशोरी सडक नाटक देखाउने अभियानमा छन् ।

ठोरी गाउँपालिका–१ चौताराका सनिस तामाङ वातावरणलाई सन्तुलन राख्नका लागि पनि बाघको संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । उहाँ पनि सडक नाटकमार्फत बाघका बारे धेरै कुरा जान्न र अरुलाई बुझाउन सक्ने भएको बताउनुहुन्छ । सडक नाटक प्रस्तुत गर्दा आफ्नो बौद्धिक क्षमता बढ्ने र सामाजिकरूपमा घुलमिलको वातावरण सिर्जना हुने अनुभव उहाँले सुनाउनुभयो ।

सिर्जना मध्यवर्ती बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी पनि किशोर–किशोरीसँगै बाघ संरक्षणको अभियानमा जुट्नुभएको छ । उहाँ भन्नुहुन्छ, “किशोर–किशोरीलाई अहिलेदेखि नै संरक्षणको भावना जगाउन सडक नाटक निकै प्रभावकारी छ, यसले भावी पुस्तामा संरक्षणको भावना झन् विकास हुने देखिन्छ ।”

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले ठोरी क्षेत्र वन्यजन्तु र त्यसमा पनि बाघ प्रभावित क्षेत्र भएको बताउनुभयो । “यहाँ वन्यजन्तुपीडित धेरै हुनुहुन्छ, उहाँले भन्नुभयो, “बाघले गाउँघरमा पसेर गाईवस्तु, बाख्रा, बङ्गुर खाने गरेको छ”, उहाँले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गाउँघरमा सचेतना जगाउन सडक नाटक प्रस्तुत गरिरहेको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जका २२ समितिमार्फत बाघ संरक्षणका काम भइरहेको छ । उहाँले वन्यजन्तु जोगाउन शिक्षा दिने योजनाका साथ युवापुस्तालाई सडक नाटकमार्फत अघि सारिएको बताउनुभयो । “गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम कोरोनाका कारण रोकिएको थियो”, उहाँले भन्नुभयो, “अहिले पुनः सोही खालका अभियान सुरु गरेका छौँ ।” उहाँले समुदायमा पुग्न सकेमात्र संरक्षण दिगो हुने भन्दै सडक नाटक प्रभावकारी बनेको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चेतनामूलक कार्यक्रमले संरक्षणमा स्थानीयको अपनत्व विकास भएको बताउनुभयो । उहाँले बालबालिका र युवा केन्द्रित कार्यक्रमले बाघलगायतका वन्यजन्तु संरक्षणमा प्रभावकारी भूमिका खेलेको जानकारी दिनुभयो । बाघ संरक्षणका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत तराई भूपरिधि कार्यक्रम ९ताल०ले सहकार्य गरेको छ ।

कार्यक्रमका चितवन पर्सा फिल्ड संयोजक प्रेम पौडेलले वन्यजन्तुको आनीबानी बुझेर मान्छेको व्यवहार परिवर्तन गर्न सडक नाटक देखाउने गरिएको बताउनुभयो । “मानव र वन्यजन्तुबीचको दूरी टाढा राख्नुपर्छ”, उहाँले भन्नुभयो, “नजिक भएकै कारण घटना धेरै हुने गरेको छ ।” उहाँले तालमार्फत चेतनामूलक कार्यक्रम र आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

चितवन, पर्सा निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भमा बाघ ओहोरदोहोर गर्ने करिडोर क्षेत्र ठोरी भएकाले पनि यहाँ विशेष संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । यो तीन निकुञ्ज जोडिएको क्षेत्र पनि हो । पौडलेले बोलेर, पढेरभन्दा पनि सडक नाटकमार्फत जनस्तरमा देखाउँदा संरक्षणमा प्रभावकारी भूमिका देखिने बताउनुभयो । “सडक नाटक सबैले चासो देखाएर हेर्ने र सुन्ने गरेका छन्, यो प्रभावकारी भएकै कारण अन्य ठाउँमा पनि यस्तै कार्यक्रम गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

images
प्रकाशित मिति :जेठ १७, २०८० बुधवार - ११:४२:०० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology