Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिङ–मलेखु खण्डमा पनि सडक विस्तार सुरु

मुग्लिङ–मलेखु खण्डमा पनि सडक विस्तार सुरु

images

इच्छाकामना न्युज

१६, बैशाख २०८०
मुग्लिङ–मलेखु खण्डमा पनि सडक विस्तार सुरु
images

चितवन । व्यस्तमध्येको पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्डमा पनि विस्तार र सुधारको काम सुरु भएको छ । मुग्लिङदेखि नागढुंगासम्म ९५ किमि सडक विस्तार र सुधार हुँदै छ ।

मुग्लिङमा कार्यालय रहेको मुग्लिङ–नागढुंगा सडक आयोजनाको पश्चिम खण्डले मलेखु पश्चिम मुग्लिङसम्म ३९ किमिमा काम गर्दै छ । महिना दिनअघि उक्त खण्डको मलेखुदेखि पाँच किमि क्षेत्रमा काम सुरु भएको आयोजना कार्यालयले जनाएको छ ।

दुई लेनको सडकलाई बजार क्षेत्रमा ६ देखि ७ लेनसम्म र उकालोमा ३ लेनको बनाउने गरी सुधार र विस्तारको काम सुरु भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । ३० वर्षअघि बनेको सडक भएका कारण बाँकी खण्डमा पनि सुधारको काम हुनेछ । निर्माणपछि सामान्य मर्मत मात्रै हुँदै आएको सडकलाई पूरै भत्काएर समयअनुकूलको भार थेग्ने बलियो बनाउने उनको भनाइ छ । पाँच प्रतिशतभन्दा बढी उकालो रहेको ठाउँमा तीन लेनको सडक बन्ने आयोजना प्रमुख किरण कार्कीले बताए ।

‘मालसामान ढुवानी गर्ने ठूला ट्रकलाई उकालोमा छुट्टै लेन दिन ३ लेनको सडक बनाउन लागेका हौं । विभिन्न ठाउँमा गरेर ६ किमि जति सडक ३ लेनको हुनेछ,’ कार्कीले भने । मूल्य अभिवृद्धि कर (भ्याट) सहित ४ अर्ब ४० करोड रुपैयाँ लागत रहेको विस्तारको काम तीन वर्षमा सक्ने लक्ष्य छ । गएको पुस १५ बाट काम सुरु भएको अवधि गणना हुनेछ । पुसबाटै गणना अवधि सुरु भए पनि महिना दिनअघि मलेखुदेखि किनारमा पर्खाल लगाउनेजस्ता काम सुरु भएका हुन् । पोल सार्ने र विस्तार क्षेत्रमा पर्ने रूख काट्न अझै बाँकी छ ।

मुग्लिङदेखि नागढुंगासम्म २ हजार ५ सय ४६ वटा रूख काट्नुपर्नेछ । मुग्लिङ–मलेखुसम्म भने १ सय २५ वटा रूख काट्नुपर्ने कार्कीले जनाए । ‘रूख काट्ने निर्णयका लागि सडक विभागबाट वन विभागमा हाम्रो फाइल पुगेको छ । यसबारे छिट्टै निर्णय होला । बिजुलीको पोल सार्न प्रक्रिया अघि बढेको छ । महिना दिनभित्र पोल सार्ने काम सुरु हुन्छ,’ प्रमुख कार्कीले भने । राजधानी काठमाडौंलाई देशका बाँकी भागसँग जोड्ने मुख्य सडक भएका कारण सडक सुधार र विस्तारको काम समयमै पूरा गर्नु अपरिहार्य छ ।

‘सडक विस्तार हुनु पर्यटन क्षेत्रका लागि सुखद हो । तर काम समयमै सकिनुपर्‍यो । काठमाडौं जोड्ने मुख्य सडकमा ढिलासुस्ती हुने र काम अस्तव्यस्त भए यसले नराम्रो असर पुर्‍याउँछ,’ चितवनका पर्यटन व्यवसायी तथा क्षेत्रीय होटल संघ (हान) सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने । सडक बन्दै गर्दा पनि गाडीलाई सजिलो गरी चलाउन सकिने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए ।

‘वैकल्पिक मार्ग छन् । त्रिभुवन राजपथ, कान्ति राजपथजस्ता वैकल्पिक मार्गलाई चुस्तदुरुस्त राखेर मुख्य राजमार्ग विस्तार गरे धेरै राम्रो हुन्थ्यो । यसमा सडक विभागको ध्यान जाओस्,’ घिमिरेले भने । पुरानो सडकलाई पूरै भत्काएर नयाँ बनाउन लागेका कारण निर्माणको काम हुँदा सहज रूपमा यातायात सञ्चालन गर्न चुनौतीपूर्ण हुने देखिन्छ । झन् समयमै काम पूरा नभए थप मर्का पर्नेछ ।

‘निर्माण सकिएको ३० वर्ष भए पनि सामान्य मर्मतबाहेक अरू काम नभएको हुँदा सडक सुधार गर्न पुरानो खण्ड भत्काएर नयाँ बनाउन लागिएको हो । पुरानो सडक भएकाले दब्ने, भत्कने समस्या छ । अब त्यस्तो नहुने गरेर काम गर्छौं,’ आयोजना प्रमुख किरण कार्कीले भने । मुग्लिङ–नागढुंगा सडकको पश्चिम खण्ड मलेखुदेखि मुग्लिङसम्म ६ ठाउँमा नयाँ पुल बन्नेछन् । दुई वटा पुल भने मर्मतसुधार गरिनेछ ।

बजार र सहज ठाउँमा ६ देखि सात लेनसम्मको सडक बनाउने, अप्ठ्यारो र भौगोलिक रूपमा कठिन ठाउँमा स्तरीय २ लेनकै सडक कायम गर्ने कार्कीले जनाए । ‘विस्तार र सुधारको काम भइरहेको ३९ किमिमध्ये ६ किमिमा ३ लेन हुनेछन् । पाँच किमि सडक ६ देखि ७ लेनको हुनेछ । बाँकी खण्ड २ लेनकै रहने उनले बताए । तर स्तरीय एवं अहिलेको भार र चाप थेग्ने खालको हुनेछ,’ कार्कीले भने । कान्तिपुर दैनिकबाट

images
प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - २०:३५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology