Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

घाँटी रेटिएको अवस्थामा बारीमा पुरूषको शव फेला

घाँटी रेटिएको अवस्थामा बारीमा पुरूषको शव फेला

इच्छाकामना न्युज

१, चैत्र २०७९
घाँटी रेटिएको अवस्थामा बारीमा पुरूषको शव फेला

सुर्खेत । मंगलबार दिउँसो सुर्खेतमा एक पुरूषको शव फेला पर्‍यो। वीरेन्द्रनगर–१० बुदबुदी टोलस्थित बारीमा शव फेला परेपछि स्थानीयले बेलुका ५ बजे प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको सुर्खेत प्रहरीले घाँटी रेटिएको अवस्थामा पुरूषको शव देखेपछि कोहलपुरबाट मंगलबार नै कुकुरसहितको अनुसन्धान टोली बोलाएको थियो।

images

शव भेटिएको केही घण्टासम्म पहिचान हुन नसकेको उक्त शवको राति भने पहिचान खुलेको थियो। मृत फेला परेका पुरूष सुर्खेतको वीरेन्द्रनगर–१० दीपनगर टोलका ४१ वर्षीय ध्रुव शाही हुन्।उनको घाँटीको अघिल्लो भागमा धारिलो हतियारले काटिएको भेटिएको थियो। उनको शव भेटिएको नजिकै चक्कु फेला पर्नु, शव भेटिएको ठाउँ नजिकै बस्ती हुनु, घरबाट निस्किएको केही घण्टामै मृत भेटिनुले यो घटना रहस्यमय देखिएको छ। उक्त घटना हत्या कि आत्महत्या भन्नेमा शंका उब्जिएको छ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने थप अनुसन्धान गरिरहेको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका शाही मंगलबार बिहान १० बजेमात्र घरबाट निस्किएका थिए। उनी नजिकै खजुरामा रहेको दिदीको घरमा जान भनेर निस्किएका थिए।

‘बिहान १० बजेतिर आफ्नो घरबाट निस्किएर दिदीको घरमा गएका रहेछन्, दिदीको घरबाट भने साढे ११ बजे निस्किएका थिए,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले परिवारको भनाइ उदृत गर्दै भने, ‘शव भेटिएको वरिपरि बस्ती छ, नजिकै चक्कु पनि भेटिएकाले झट्ट हेर्दा हत्याजस्तो नदेखिए पनि थप कुरा त अनुसन्धानबाटै खुल्ला।’

हत्या नै भए पनि बस्ती नजिकै दिनदहाडै मानिसको विभत्स हत्या हुनु आश्चर्यजनक भएको उनले बताए।घटनापछि प्रहरीले मृतकका परिवारसँग सोधपुछ गरेको थियो। परिवारले उनमा मानसिक तनाव भइरहने समस्या भएको बताएको डिएसपी शाहीले बताए।

‘घरपरिवारलाई सोध्दा उनी डिप्रेसनको औषधि खान्थे भन्ने छ,’ परिवारको भनाइ उदृत गर्दै उनले भने। परिवारले प्रहरीलाई भनेअनुसार शाही र उनकी श्रीमती मंगलबार बिहान खाना खानुअघि औषधि लिन भनेर वीरेन्द्रनगर बजारमा रहेको माया नर्सिङ होममा गएका थिए।

अस्पतालबाट फर्किएपछि खाना खाएर शाही दिदीको घर जान भनेर हिँडेका थिए।‘अस्पतालबाट गएर खाना खाएछन्, त्यसपछि औषधि नखाएरै बाहिर जान्छु भनेर निस्किएको परिवारले भनेका छन्,’ डिएसपी शाहीले भने, ‘दिदीको घरबाट पनि छिट्टै फर्किएका रहेछन्।’

दिदीको घरबाट निस्किएको समय साढे ११ बजेदेखि शव भेटिँदासम्मको समय उनले कहाँ बिताए भन्ने बारेमा भने खोजी भइरहेको डिएसपी शाहीले बताए।मृत भेटिएका शाही सुरूमा नेपाली सेनामा कार्यरत थिए। उनले १३ वर्ष जागिर गरेर छोडेका थिए। त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

कतारबाट फर्किएपछि उनले गाडी किनेर चलाएका थिए। उक्त गाडी पनि ३–४ महिनामै बेचेका थिए। त्यसयता अहिले पुनः वैदेशिक रोजगारीका लागि जाने प्रयास गरिरहेको परिवारलाई उदृत गर्दै डिएसपी शाहीले बताए। उनका एक छोरा र एक छोरी छन्।शाहीको शव पोष्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।

images
प्रकाशित मिति :चैत्र १, २०७९ बुधवार - २१:४९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology