Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–पोखरा सडक : १४ महिना म्याद रहँदा १० प्रतिशत मात्रै काम

मुग्लिन–पोखरा सडक : १४ महिना म्याद रहँदा १० प्रतिशत मात्रै काम

इच्छाकामना न्युज

१४, फाल्गुण २०७९
मुग्लिन–पोखरा सडक : १४ महिना म्याद रहँदा १० प्रतिशत मात्रै काम
images

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा कामको प्रगति न्यून छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिएपनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो ।

images
images

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरि काम गरिएको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत रहेको छ । काम सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा कामको प्रगति सुस्त हुँदा समयमै काम सम्पन्न नहुने आशङ्का उब्जिएको छ ।

पूर्वी खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५.५ प्रतिशत रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत पोल स्थानान्तरण नहुँदा काम सुस्त भएको सुवेदीले बताए ।

त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति ४.१ प्रतिशत मात्रै छ । यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ । यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको जनाइएको छ ।

Prithvi-highway-notice-1024x855.jpg

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाई भएको थियो । तर अहिले उक्त समस्या समाधान भएको बताइएको छ ।

विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

राजमार्गको विस्तार कार्य सुस्त भएपछि यसबारेमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेशसभामा यस बारे कुरा उठाएका छन् । उनले कामको गति सुस्त रहेकाले समयमै सम्पन्न नहुने भएकाले कामको गति बढाउन प्रदेशसभा मार्फत् सरकारको ध्यानाकर्षण गराए । खबरपुञ्जबाट

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - ०९:५७:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology