चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेकी बोल्न र सुन्न नसक्ने एक महिला ९ दिनदेखि बेपत्ता भएकी छन् । फागुन २ गते राती ११ बजे घरबाटै निस्किएकी ३२ बर्षीय कविता सन्जेल सिलवाल अहिलेसम्म सम्पर्कमा नआएको उनका बुबा शिवप्रसाद सन्जेलले जानकारी दिए ।
लेखपढ गर्न सक्ने उनी बहिरा संघमा आबद्ध छिन् । परिवारजनले आफन्त र जिल्ला भित्र खोजीगर्दा समेत कवितालाई भेट्टाउन नसकेपछि इलाका प्रहरी कार्यालय खैरहनीमा खोजीकार्यका लागि निवेदन समेत दिएका छन् ।
‘सबैतिर खोज्यौं, तर कतै भेटाउन सकिएन्’, उनका श्रीमान सुवर्ण सिलवालले भने । घरमा कसैलाई केही नभनी बेपत्ता भएको भन्दै उनले खोजीकार्यका लागि सबै उपाय अबलम्बन गरिएको बताए ।