Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नारायणगढ–मुग्लिन सडक : विस्फोट गरेर भित्तो काट्ने तयारी

नारायणगढ–मुग्लिन सडक : विस्फोट गरेर भित्तो काट्ने तयारी

images

रासस

२८, माघ २०७९
नारायणगढ–मुग्लिन सडक : विस्फोट गरेर भित्तो काट्ने तयारी
images

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ। तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ। सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए। 

तुइन खोलाको देब्रेतर्फको डाँडो करिब एक साताभित्र काटि सक्ने सक्ने गरी काम भइरहेको उनले बताए। दायाँतर्फ भने ४० प्रतिशत मात्रै काम भएको उनको भनाइ छ। दायाँतर्फ ६० मिटर अग्लो चट्टानको करिब २५ काटिसकेको उनले बताए। ‘बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले विस्फोट गराउन अनुमति मागेका छौँ,’ उनले भने। 
 
आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालयमा फाइल पुगेको छ। त्यहाँबाट स्वीकृत भएपछि विस्फोटक पदार्थ खरिदका लागि प्रक्रिया अघि बढाइने उनले बताए। 

भित्तो काट्न बाँकी रहेको चिसेन्जी खोलाको पुलको देब्रेपट्टिको भित्तो काट्ने काम पनि ८० प्रतिशत सकिएको उनले बताए। अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान गरिएको छ। दायाँपट्टिको भित्तो काट्ने काम सकिएको छ। 

उक्त कामकै लागि आयोजनाले पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम गरेको थियो। तर, एक महिनाभित्रमा पनि नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनको लागि दिउँसोमा सवारी रोकेर काम भइरहेको छ। दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ। यही गतिमा काम भएमा थप दुई महिना सवारी रोक्नुपर्ने देखिएपछि विस्फोटको विकल्प खोजिएको हो। 
 
डाँडो तल झरेकाले विस्फोट गर्दा कम क्षति हुने जनाइएको छ। सिमलताल, कालीखोला र नान्सी खोलाको भित्तो काट्ने काम सकिएको आयोजनाले जनाएको छ।  यी पुलसँगै काम थालिएका नौवटा पुलको भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्। यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए। पाँच वटा पुल निर्माणाधीन छन्। 

सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो। पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो। विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो। एउटा पुलको काम भने अझै पनि सुरु भएको छैन। पुलको छेउमा सुकुम्बासी बसेकाले हटाउन नसक्दा काम रोकिएको आयोजना प्रमुख कार्कीले जानकारी दिए। 

विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ। कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ। रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो। पुल निर्माण २०८० पुससम्म सम्पन्न गर्नुपर्ने छ। 

सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको छ। सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ। पुल निर्माणका लागि लागत रु एक अर्ब २२ करोड हाराहारी छ। 
 
सो सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक नौदेखि ११ मिटर फराकिलो छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन्। 

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - ००:२४:३७ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology