चितवन । तरकारीको लागत मूल्य पनि नपाएको भन्दै शुक्रबार चितवनका किसानले व्यस्त बजार नारायणगढको पुलचोकमा तरकारी फालेर प्रदर्शन परे। सवारीसाधनको भीडभाडले ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने ठाउँमै गाडीका गाडी तरकारी ल्याएर सडकैभरी फालिएपछि झन् ट्राफिक व्यवस्थापनमा असहज बन्यो।
किसानको प्रदर्शनपछि फालिएकै तरकारीमाथि सवारीसाधनको टायर गुडाउन ट्राफिक प्रहरीले निर्देशन दिए। सयौँ सवारीसाधत किसानले सडकमा बिच्छ्याएकै तरकारीमाथि कुल्चिएर ओहोरदोहोर भए। स्वदेशी उत्पादनले बजार नपाइरहेको बेला सरकारले भारतबाट आउने तरकारीजन्य पदार्थ आयातमा रोक नलगाएको भन्दै सरकारलाई दबाब दिन सडकमै तरकारी फालेका हुन्।
शुक्रबार चितवनमा भएको यो घटनाले अखिल नेपाल किसान युनियनको समेत ध्यान नातेको छ। आफैँले फलाएको तरकारी आफैँलाई भारी भएपछि किसानले सडकमै तरकारी फालेर रजाइँ गर्नुपरेको भन्दै किसान युनियनले शनिबार तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ।
नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता, आलेटाले र गलत नीतिका कारण किसानले आफ्ना उत्पादनलाई सडकमा थुपार्न परेको भन्दै यस्तो अवस्था पटकपटक आउँदा पनि सरकारले ध्यान नदिनु राज्यकै लागि सकारात्मक पक्ष नभएको संघले बताउँदै आएको छ।
“अखिल नेपाल किसान युनियन तरकारी किसानको यो आन्दोलनप्रति गम्भीर छ र यस आन्दोलनको समर्थन गर्दै राज्यले किसानको तरकारीको समर्थन मूल्य तोकेर तुरुन्त लागू गरोस् र किसानले मूल्य नपाएर आफ्नो उत्पादन सडकमा फाल्नुपर्ने स्थिति सिर्जना नहोस् भन्ने जोडदार माग गर्दछ”, युनियनद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।
युनियनले राज्यसँग तत्कालीन र दीर्घकालीन किसानमैत्री नीति अख्तियार गरी किसानका समस्या हल गर्न र किसानहरूको नोक्सानीको क्षतिपूर्ति दिएर भर्पाइ गर्न पनि माग गरेको छ।