Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सामुदायिक विद्यालयमा दिवा खाजाको प्रभाव : खाजाकै लागि बालबालिका विद्यालयमा

सामुदायिक विद्यालयमा दिवा खाजाको प्रभाव : खाजाकै लागि बालबालिका विद्यालयमा

images

पत्रपत्रिका

११, माघ २०७९
सामुदायिक विद्यालयमा दिवा खाजाको प्रभाव : खाजाकै लागि बालबालिका विद्यालयमा
images

भरतपुर । सरकारले सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरेपछि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म तान्न सफल भएको छ ।

विशेषगरी, विकट एवम् विपन्न बस्तीआसपासका विद्यालयमा यो कार्यक्रम बढी प्रभावकारी देखिएको छ । सरकारले केही वर्षदेखि लागू गरेको ‘दिवा खाजा’ कार्यक्रमले गरिबीका कारण विद्यालयसम्म आउन नसक्ने बालबालिकाका लागि सकारात्मक भूमिका खेलेको इच्छाकामना–५ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका प्रधानाध्यापक यानबहादुर गुरूङ बताउँछन् ।

‘सरकारको यो कार्यक्रमले विद्यार्थी टिकाउनमा थोरै भए पनि सहयोग पुगेको छ’, उनले भने, ‘किनकि चेपाङलगायतका विपन्न परिवारका बालबालिका खाजा खानकै लागि विद्यालय आउने क्रम बढेको छ ।’ दिवा खाजा कार्यक्रमले बालबालिकाको दिमागमा सकारात्मक ऊर्जा भरिएकोसमेत उनले बताए । ‘खाजाकै आशमा विद्यालय आउँदा दिनभर पढ्छन्, नियमित विद्यालय आउने परिपाटीको विकास भएको छ’, उनी भन्छन् ।

सरकारले प्रतिविद्यार्थी १५ रूपैयाँको दरले दैनिक खाजा खुवाउँदै आएको छ । त्यसमा विद्यालयले हरेक दिन पालैपालो गरेर विभिन्न प्रकारका खाजा खुवाउने गरिरहेका छन् । जाउलो, चिउरा–तरकारी, भुटेको मकै र भटमास, चिउरा–दालमोठ, पाउरोटी, मासु–चिउरा, बिस्कुट, फलफूल आदि विद्यालयमा प्रयोग हुने खाजाका प्रकार हुन् । एकै प्रकारको खाजा खुवाउँदा बालबालिकाको खाजाप्रतिको आकर्षण घट्ने हुँदा हरेक दिन फरक प्रकारका खाजा खुवाउने गरिएको प्रधानाध्यापक गुरूङ बताउँछन् ।

जिल्लाकै सबैभन्दा विकट मानिने कान्देश्वरी आधारभूत विद्यालय कान्दामा भने सरकारले खुवाउनुभन्दा अगाडिदेखि नै गैरसरकारी संस्थाको सहयोगमा खुवाउन थालिएको थियो । राप्ती नगरपालिकाको वडा नं–१३ मा पर्ने कान्दाका बालबालिकालाई विद्यालयसम्म डो¥याउनका लागि पनि मितेरी फाउन्डेसनले २०६९ देखि खुवाउन थालेको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिए । यसलाई सरकारले नै देशभर लागू गरेपछि थप सहयोग मिलेको उनले बताए ।

चेपाङबाहेकका समुदाय नहुने हुँदा ग्रामीण भेगमा यो कार्यक्रम अत्यन्तै उपयोगी बनेको उनको भनाइ छ । ‘मानवलाई चाहिने खाना नै हो, तर चेपाङका घरमा खाना नै नहुने भएपछि खाजा खानकै लागि पनि विद्यालयसम्म ल्याएको छ’, उनी भन्छन्, ‘त्यसमा पनि सरकारकै नीतिअनुसार सकभर स्थानीय खाद्य पदार्थलाई नै खाजाको रुपमा प्रयोग गर्दै आएका छौँ ।’

उनका अनुसार राप्ती नगरपालिकाले राप्तीको वडा नं–१०, ११, १२ र १३ का विद्यालयहरुमा कक्षा १० सम्मकै विद्यार्थीलाई खाजा खुवाउने निर्णय गरेको बताए । ‘नगरपालिकाले चारवटा वडामा कक्षा १० सम्मकै विद्यार्थीलाई खाजा खुवाउने निर्णय गरेको सुनेको छु’, उनले भने, ‘पालिकाकै सबैभन्दा विकट क्षेत्र भएकोले आवश्यक पनि थियो ।’

नगरपालिकाले पनि आउँदो नयाँ शैक्षिक सत्रदेखि विद्यालयको दिवा खाजाको रकम बढाएर बीस रूपैयाँ पु¥याउने बताएको छ । ‘अहिलेसम्म १५ को खाजा खुवाउँदै आइएको छ । समयअनुसार सधैँ एकनास हुँदैन । त्यसैले त्यसलाई बढाएर प्रतिव्यक्ति २० बराबरको खाजा खुवाउने निर्णयमा पुगेका छौँ’, पालिकाका मेयर शमशेर लामाले भने, ‘आउँदो शैक्षिक सत्रदेखि लागू हुन्छ ।’ विशेषगरी, अत्यन्तै ग्रामीण क्षेत्रमा दिवा खाजा कार्यक्रम निकै प्रभावकारी हुने हुँदा यसलाई हटाउन नहुने उनको भनाइ छ ।

दिवा खाजा कार्यक्रमले समग्र सरकारी विद्यालयमा विद्यार्थीको चाप बढाएको कालिका नगरपालिकाका मेयर विनोद रेग्मी बताउँछन् । विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय पालिकाको प्रयासबाट मात्रै सम्भव नहुने हुँदा केन्द्र सरकारबाटै नीति निर्माण गरी शैक्षिक गुणस्तरका कार्यक्रम ल्याउन सके सामुदायिक विद्यालयलाई पनि अब्बल बनाउन सकिने उनी बताउँछन् । ‘दिवा खाजासँगै विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने, शैक्षिक सामग्री उपलब्ध गराउनेजस्ता क्रियाकलाप त भइरहेकै छन् । त्यसबाहेक टाढाका विद्यार्थीका लागि छात्रावासको व्यवस्थासमेत मिलाउन सकियो भने विकटका बालबालिकालाई उच्च शिक्षा दिलाउने बाटो खुल्थ्यो ।’

विद्यार्थीलाई विद्यालयसम्म ल्याउन खाजाले सहयोग गरे पनि उनीहरुलाई खाजामा जस्तै शिक्षामा पनि आकर्षित गराउन सक्नुपर्ने चुनौती रहेको उनी बताउँछन् । त्यसका लागि कालिकाले हाल दुई ठाउँमा छात्रावास सञ्चालन गर्ने तयारी गरिरहेको मेयर रेग्मीले बताए । ‘विद्यालय र घरको दूरी नजिक बनाउनका लागि पालिकाले छात्रावास सञ्चालनको तायारी गरिरहेको छ’, मेयर रेग्मी भन्छन्, ‘त्यसले टाढाबाट आउने विद्यार्थीलाई आवासीय सुविधा मिल्छ, जसले बालबालिकाको शैक्षिक स्तरोन्नतिमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।’

चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा अधिकांश सीमान्तकृत चेपाङ जातिको बाहुल्यता छ । भौगोलिक विकटता र गरिबीका कारण विद्यालय जानबाट वञ्चित चेपाङ बालबालिकालाई दिवा खाजाले निकै आकर्षित गराएको छ । भूगोलअनुसार खाजा र बसोवासको व्यवस्थामात्रै मिलाइदिने हो भने चेपाङ समुदायको पनि अबको पुस्ताले अन्धकारमा बस्नु नपर्ने राप्तीका मेयर लामा बताउँछन् । सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउँदै आएको छ । चितवनपोष्ट दैनिकबाट

#तस्बिरमा राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका विद्यार्थी ।

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - १०:५०:०१ बजे

पत्रपत्रिका

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology