दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाद्धारा विपदबाट जोगिन खोज तथा उद्धार तथा स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ । सुरक्षा निकाय तथा स्वास्थ्य सेवा प्रदायलाई प्रदान गरिएको हो ।
भानु नगरपालिका–२ स्थित नं.२३ शसस्त्र प्रहरी मनकामना गण भानु, जिल्ला प्रहरी कार्यालय तनहुँ, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ, दमौली अस्पताल र रक्त सञ्चार केन्द्र दमौलीलाई सहयोग गरिएको हो । सहयोग सामग्री नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले प्रदान गर्नुभयो । सो अवसरमा गौतमले आपत विपत परेको बेला तथा प्राकृति प्रकोप परेको बेला अनाथ, असाह्य र पीडितलाई सहयोग गर्न रेडक्रसको जन्म भएको उल्लेख गर्दै उपचारको लागि तत्कालै काम गर्न मिल्ने समान हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । रेडक्रसको केन्द्रले तोके अनुसारको समान प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
रेडक्रसले सोमबार सशस्त्र प्रहरी गणका गणपति सूर्यप्रसाद आचार्यलाई हस्तान्तरण गरेको थियो भने मंगलबार जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्ट, दमौली अस्पतालका निमित्त प्रमुख डा. अभिनन्दन तिवारीलाई हस्तान्तर गरेको थियो भने बुधबार बल्डबैंक दमौलीलाई प्रदान गरिने भएको छ । कोकाकोला फाउण्डेसनको सहयोगमा रेडक्रसको केन्द्रीय कार्यालयले पठाएको चार लाख मूख्य बराबरको सामग्री सहयोग गरिएको नेपाल रेडक्रस सोसाईटी तनहुँका वरिष्ठ अधिकृत शिवकाजी पियाले जानकारी दिनुभयो ।
सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई विपतबाट जोगिनको लागि तयारी अवस्थामा राख्न खोज तथा उद्धारका सामग्रीहरु वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खलेले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा कोकाकोलाका एरिया सेल्स म्यानेजर विनोद बोहोरा, दमौलीका प्रमुख विक्रेता तथा तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल लगायतले सामाजिक उत्तरदायित्व अन्तर्गत विपत्लाई पा्रथमिकता दिन उपयुक्त ठानेर कोकाकोला फाउण्डेसनले सहयोग गरेको जानकारी दिनुभएको थियो ।