Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कृषि

कृषिबाट मनग्य आम्दानी गरिहेकी रामपुरकी भगवती देवकोटा

कृषिबाट मनग्य आम्दानी गरिहेकी रामपुरकी भगवती देवकोटा

रासस

७, माघ २०७९
कृषिबाट मनग्य आम्दानी गरिहेकी रामपुरकी भगवती देवकोटा
images

रामपुर । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन। समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे। आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे।

images
images

समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएका छिन्, भगवती देवकोटा। रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई चार पैसा कमाइ गर्छुभन्दा पनि समुदायबाटै अपहेलित हुनुपर्‍यो। हिजोआज भने सोही समुदायले उनको कृषिकर्मको खुलेरै प्रशंसा गरिरहेको सुनिन्छ।

लामो समयसम्म यस व्यवसायमा रहेकी देवकोटाले धेरै अनुभव सङ्गालेको हुँदा छिमेकी पनि उनीसँग कृषि प्रविधि र तरकारी खेतीबारे जानकारी लिन पुग्छन्। समाजमा शिक्षा र चेतनाको विकाससँगै विभिन्न निकायबाट कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, एफएम रेडियो, टेलिभिजनलगायतका विभिन्न सञ्चार माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह हुन थालेपछि अहिले यस व्यवसायमा सबैका सामु देवकोटा उदाहरणीय किसान बनेकी छन्।

“परिवारमा धन कमाउने नहुँदा घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउन धेरै समस्या भएपछि तरकारी लगाइयो, बेच्न जाँदा समाजमा नानाथरि कुरा गर्ने, रात पर्न थालेपछि लुकेर बजारमा गएर तरकारी बेचेर घर फर्केका क्षण अहिले ताजै छन्”, उनले भनिन्। आजभन्दा करिब एक दशक अघि उनले फलाएका तरकारी आनन्दले बिक्री गर्ने वातावरण समाजमा थिएन। त्यस समयमा तरकारी बेच्ने किसानलाई समाजले तल्लो दर्जाको रुपमा हेर्ने गरेको उनको अनुभव छ।

आफैँले उत्पादन गरेका तरकारी, दिउँसो टिपेका साँझपखको समय छिमेकीले देख्ने डरले मौका छोपेर लुकेर घरबाट निस्कन्थिन्। छोराछोरीको पढाइ खर्च, घर व्यवहार धान्न कमाइ नहुँदा उनलाई आम्दानीको निम्ति तरकारी लगाउँदा समाजको नकारात्मक भनाइ र व्यवहारले बेला बेलामा पिरोल्थ्यो।

“आफूले उत्पादन गरेका कृषिउपज ढुक्कले बजारमा गएर बिक्री गर्न डराउनुपर्ने थियो”, उनले भनिन्, “अहिले समाजको सोचाइ बदलिएको छ, किसानलाई सम्मानित पेसाका रुपमा लिँदा व्यवसायमा उत्साह बढेर आउँछ, सकुञ्जेलसम्म कृषिमै रमाउने हो।” दैनिक त्यस समय रामपुरको बेझाड बजार चोकको चौतारीमा ४५ मिनेट हिँडेर बोरामा तरकारी बोकेर हस्याङफस्याङसँग पुग्थिन् उनी। तरकारी बेचेको रकमले घरायसी सामग्री किन्थे। तरकारी बजारमा बेच्न जाँदा अनेक कुरा गर्नेहरु अचेल तरकारी खेतीको सिको गर्छन र प्रशंसा गर्छन्।

उनले सालिन्दा पाँचसात रोपनीमा समयानुसार विभिन्न जातका तरकारी लगाउँछिन्। घरायसी प्रयोजनका अलावा वार्षिकरुपमा खर्च कटाएर रु दुई लाख तरकारीबाटै आम्दानी गर्दै आइरहेको उनका श्रीमान् पूर्णचन्द्र देवकोटाले बताए। श्रीमान् श्रीमती यस व्यवसायमा संलग्न छन्। तरकारी खेतीको रेखदेखमै दिन बितेको पत्तो हुँदैन। स्थानीय बजारमै तरकारी खपत भइरहेकाले बिक्री गर्ने झण्झट नभएको पूर्णचन्द्रको भनाइ छ। उनको खेतबारीमा काउली, बन्दा, आलु, धनियाँ, मुलालगायतका हरियाली तरकारी छन्। उनीहरुले घरका खाली आँगनसमेत तरकारीले हराभरा बनाएका छन्।

images
प्रकाशित मिति :माघ ७, २०७९ शनिवार - ०९:३१:३८ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology