गोरखा । गोरखा १ ‘क’बाट निर्वाचित सांसद कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुख हुने चर्चा चलेको छ । गठबन्धनको भागबण्डामा सभामुख माओवादी र उपसभामुख एमालेलाई परेको छ ।
माओवादीबाट धिताल सभामुख बन्ने संभावना धेरै छ । प्रदेश सभामा निर्वाचितमध्ये ‘सिनियर’ नेतामा पर्ने भएकाले धिताललाई केन्द्रीय नेताहरुले सभामुखका लागि प्रस्ताव गरेका छन् ।
धिताल सभामुख बन्ने वा मन्त्री बनेर सरकारमा जाने भन्नेमा दोधारमै छन् । पार्टीको निर्णय अनुसार अघि बढ्ने उनले बताए । पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने संवैधानको धारा १८२ (१) मा व्यवस्था छ । १८ पुसमा पहिलो बैठक बसेकाले २ माघभित्र सभामुख र उपसभामुख निर्वाचन हुनुपर्छ ।
२९ पुसमा प्रदेशसभाको दोस्रो बैठक बस्दै छ । त्यही दिन दलहरूसँग छलफल गरेर निर्वाचन कहिले गर्ने भन्ने टुंग्याउने तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । एमालेबाट सांसद पद्मा जिसी र देवका पहारीको नाम उपसभामुखमा चर्चामा छ ।