चितवन । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज चितवनले महिला अधिकारको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेको छ। ‘महिला अधिकार, मानव अधिकार भन्ने मूल नारासहित डिसेम्बर १० तारिखको दिन दिवसको अवसरमा समाजले भरतपुरको चौबिसकोठीमा शान्तिपूर्ण प्रदर्शन गरेको हो।

प्रदर्शनमा समाजका केन्द्रीय तथा जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको मानवअधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले बताए । प्रदशन पश्चात समाजका केन्द्रीय सचिव बाबुहरी आचार्य, पूर्व केन्द्रीय सचिव राजेन्द्र पौडेल, संस्थापक जिल्ला सभापति दिल बहादुर बोगटी लगायतले महिला अधिकारको विषयमा मन्तव्य राखेका थिए।

समाजको शान्तिपूर्ण प्रदर्शनीमा सहभागी व्यक्तित्वहरुले संवैधानिक निकायहरुमा महिलाको प्रतिनिधित्व न्युन किन ?, नीति निर्माणका तहहरुमा महिलाको प्रतिनिधित्व न्युन किन ?, प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरुद्वारा प्रत्यक्षतर्फ महिला उम्मेद्वार न्युन किन ?, मन्त्रीमण्डलमा महिलाको प्रतिनिधित्व न्युन किन ?, कुटनीतिक नियुक्तिमा महिलाको प्रतिनिधित्व न्युन किन ?, महिलाहरुलाई होच्याउनेरअपमान गर्नेहरुलाई उन्मुक्ति किन ?, महिला विरुद्ध अझै पनि भेदभाव किन ?, महिलामाथि हुने हिंसामा दोषीलाई उन्मुक्ति किन ?, बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र किन ? ‘महिला अधिकार मानव अधिकार, व्यवहारमा चरितार्थ गरौँ’ जस्ता नारा लेखिएका प्ल्येकार्ड बोँकी प्रदर्शन गरेका थिए।
