भावना पौडेल, डडेलधुरा । महिनावारी नियमित शारिरीक र प्राकृतिक अवस्था हो भन्ने बुझाइ बढ्दै जाँदा महिनावारीबारेको बुझाइ फेरिँदै गएको छ । पाप लाग्ने भन्दै महिनावारी भएका बेला असुरक्षित गोठ र छाप्रामा बस्न पठाउने चलन पूरै हटिनसके पनि डडेलधुरामा घट्दै गएको छ ।
महिनावारी भएका बेला घरमै बस्न पाउन थालिएको डडेलधुराको नवदुर्गा गाउँपालिका –१ कोटेलीका भावना जोशीले बताउनुभयो । पछिल्लो पुस्ताका अगुवा, सञ्चारमाध्यम, सरकारी तथा गैरसरकारी संस्थाले वर्षौँदेखि यो गलत चलन हटाउन प्रयास गरिरहेका छन् । जसका कारण महिनावारी भएको बेला घरमा बसे देउता रिसाउने, अनिष्ट हुने, बाबुबाजेका पालादेखिको परम्परा भत्कने जस्ता गलत मान्यता विस्तारै भत्किन थालेको हो ।
महिनावारीबारेको बुझाइ बदलिँदै गए पनि ग्रामीण भेगमा अझै महिनावारी बार्ने क्रम भने कायमै छ । पहिला गाईवस्तुुको गोठमा बस्नुुपथ्र्यो भने हिजोआज घरको एक कोठामा महिनावारी बार्न थालिएको छ । तर अझै पनि महिनावारी भएकाले छोएको नखाने, दुध दही खान नदिने चलन कायमै छ । महिनावारीका बेला छाउगोठमा बस्नुपर्दा बलात्कृत हुनुपर्ने, जङ्गली जनावरको आक्रमणमा पर्ने मात्र नभइ ज्यानै जानेसम्मका घटना हुने गरेका छन् ।