जनकपुर । महोत्तरी जलेश्वरका निहारिका राजपुत सिंहको कोखबाट जन्मिएको शिशु र बलात्कार आरोपी शिव श्रेष्ठको डीएनए मिलेको छ । राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै श्रेष्ठसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय संघर्ष गर्दै आउनुभएको थियो ।
उच्च अदालत जनकपुर स्रोतका अनुसार आरोपित श्रेष्ठ र राजपुतको कोखबाट जन्मेको बच्चाको डीएनए रिपोर्ट मेल खाएको नतिजा अदालत सम्म आइपुगेको छ । मिलेको रिपोर्टसहित अब यो मुद्दा फेरि इजलासमा पठाइनेछ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आरोपित श्रेष्ठ र निहारिकाको कोखबाट जन्मिएको बच्चाको डीएनए परीक्षण गर्दा ९९ दशमलब ९९ प्रतिशत डीएनएन मिलेको रिपोर्ट दिएको बताइएको छ ।
गत भदौ २४ गते दुवैको डीएनए परीक्षण भएको थियो । निहारिकाले जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिनुभएको थियो ।