चितवन । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ। उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपीडी टिकट निःशुल्क गरेको बताइन्। उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै संघीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने बताइन्।
प्रमुख दाहालले भरतपुर अस्पतालको समग्र विकासका लागि महानगर निरन्तर लागिरहेको भन्दै ढल निकास र बर्थिङ सेन्टरका लागि छलफल भइरहेको जानकारी दिइन्। उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले संघीय सरकारलाई देखाउने राम्रो अस्पताल भरतपुर अस्पताल भएको बताए।
विसं २०१३ मा बनेको अस्पतालमा नयाँ आकस्मिक भवन बनेको हो। नयाँ आकस्मिक भवनमा हाल ३५ शय्या सञ्चालनमा छन्। केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने भएको छ। नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, शल्यक्रिया कक्षसहितको व्यवस्था छ।