जनार्जन खत्री, सर्लाही । तराईदेखि पहाडसम्म नै तिहार मनाउने शैली फेरिएको छ । तिहारमा प्रयोग हुने माटाको भाँडा र बाँसको चोयाबाट बन्ने सरसामग्रीको प्रयोग घट्दो क्रममा छ । बजारमा प्लाष्टिकका सामग्री सहजै छ्यापछ्याप्ती पाउने भएपछि माटाको भाँडा र बाँसको चोयाबाट बन्ने सामग्री लोप हुँदै गएका छन् ।
३० वर्षदेखिआफ्नै हातले माटाको दियो, पाला, हात्ती लगायत विभिन्न आकार प्रकारका भाँडा बनाउँदै आउनुभएका सर्लाही चन्द्रनगर गाउँपालिका–१, रतनपुरका हरक पण्डितले पहिलेको जस्तो माटोको भाडाको बिक्री हुन छाडेको बताउनुभयो ।
माटाको भाँडासँगै बाँसको चोयाबाट बनाइने ढाँकी, छिटी, डलिया, पङ्खा जस्ता सामग्रीको पनि राम्रो व्यापार छैन् । बाँसको चोयाबाट बन्ने सामग्री तराईमा अत्यन्तै पिछडिएको दलित समुदायमा पर्ने डोम समुदायले बनाउँने गरेका छन् । तर बिक्रि घट्दा तिहार मनाउने खर्च जुटाउन सजिलो नभएको लालबन्दी नगरपालिका–७, का राजकिशोर मल्लीको भनाइ रहेको छ ।
आधुनिक र प्लाष्टिकका सामग्रीको प्रयोग बढ्नु र परम्परागत सामग्रीको प्रयोग घट्नुले एकातिर सास्कृतिक महत्व नै घट्ला कि भन्ने चिन्ता छ, अर्कोतिर यस्ता सामग्री बेचेरै चाड मनाउनेहरूको चिन्ता पनि छ ।