Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कृषि

चितवनमा धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतीय श्रमिकको भर

चितवनमा धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतीय श्रमिकको भर

इच्छाकामना न्युज

४, कार्तिक २०७९
चितवनमा धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतीय श्रमिकको भर

भरतपुर । रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उहाँ चितवन आउने गर्नुभएको छ ।

images

“यो वर्ष मात्रै तीन पटक चितवन आएँ”, उहाँले भन्नुभयो, “काम सहजै पाइन्छ पैसा पनि राम्रै छ”, उहाँले भन्नुभयो । उहाँले रौतहटमा रहँदा उखु छिन्ने र आफ्नो घरायसी काम गर्दै आएको बताउनुभयो । बिहीबार भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा धान काटिरहेको अवस्थामा भेटिनुभएका उहाँले आफूहरु समूह नै बनाएर यहाँ आउने गरेको बताउनुभयो ।

यसपटक आठ जनाको टोली आएको भन्दै उहाँले ठेक्कामा काम लिने र आएको पैसा बराबर बाँडफाँट गर्ने गरेको जानकारी दिनुभयो । “आजमात्रै एक बिघा जग्गाको रु २२ हजारमा ठेक्का लिएका छौँ । धान काट्ने, चुट्नेदेखि घर भित्र्याइ दिनेसम्मको जिम्मा हाम्रो हो”, उहाँले भन्नुभयो । आठ जनाले दुई दिनमा एक बिघाको सबै काम सक्ने उहाँको भनाइ छ ।

पटेलसँगै आउनुभएका सर्लाहीका लालबाबु झा पहिलोपटक धान काट्नका लागि चितवन आएको बताउनुभयो । उहाँले काठमाडौँमा श्रमिकको काम गर्दै आएको र धान काट्ने यो समयमा पैसा राम्रो कमाइ हुने साथीहरुले भनेका कारण आएको बताउनुभयो । उहाँले छठपर्वका लागि पैसाको जोहो हुने भएकाले पनि धान काट्न आउनुपरेको जानकारी दिनुभयो । उहाँले दुई÷चारदिन छठ मनाएपछि पुनः यहाँ आएर काम गर्ने बताउनुभयो ।

यस्तै रौतहटका कृष्ण पाण्डे पनि आठ वर्षदेखि नियमितरुपमा चितवनमा धान काट्न आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यहाँ काम जति पनि पाइन्छ, कहिलेकाहीँ त काम धेरै भएका कारण भ्याइँदैन भन्नुपर्ने हुन्छ ।” धेरै काम हुँदा कहिलेकाहीँ रातभर काम गरेरसमेत सक्ने गरेको अनुभव उहाँले सुनाउनुभयो । पाण्डेले एक महिनाको अवधिमा खाने बस्ने खर्चबाहेक रु २५ देखि ३० हजार जम्मा गरेर घर लैजाने गरेको बताउनुभयो । चितवनमा तराईसँगै भारतबाट पनि ठूलो सङ्ख्यामा श्रमिक धान रोप्ने र काट्ने सिजनमा आउने गरेका छन् ।

पूर्वी चितवनको भण्डाराका किसान रामशरण काफ्लेले प्रत्येक वर्ष तराईबाट आउने श्रमिकलाई काम लगाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ भएकाले काम गर्दैनन्, उनीहरुलाई ठेक्कामा दिएपछि हाइसन्चो हुन्छ ।” काफ्लेले यस वर्ष पनि आफूले धान राप्नेदेखि काट्नेसम्म सबै जिम्मा तराईका श्रमिकलाई दिएको बताउनुभयो । “गाउँमा अधिकांश चालिस÷पचास कटेका मान्छेमात्र छन्”, उहाँले भन्नुभयो, “काम गर्ने युवा कोही अष्ट्रेलिया, अमेरिका त कोही खाडीमुलुकमा गए, गाउँमा काम गर्ने मान्छे भएन ।”

यही अवस्था रहिरहे नेपालमा काम गरेरसमेत खाना नसक्ने अवस्था आउने उहाँको भनाइ छ । राज्यले कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गरेको बताउँदै आए पनि श्रमिकदेखि बीउ मलसम्म अरुकै भर पर्नुपरेको गुनासो गर्नुभयो ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले जिल्लामा धान काट्नेदेखि थन्काउनेसम्म भारतीय र तराईका श्रमिकको भर पर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “व्यावसायिक र निर्वाहमुखी दुवै खेतीमा उनीहरुकै भर पनुपर्छ, यहाँ स्थानीयस्तरमा श्रमिक पाइन छाडेको छ”, उहाँले भन्नुभयो । युवाहरु रोजगारीका लागि विदेश पलायन हुँदा र अध्ययनका लागि बाहिर जाँदा काम गर्ने मान्छेको अभाव रहेको उहाँले बताउनुभयो ।

“हामीमा काम गर्ने बानीसमेत हराइसकेको छ, उहाँले भन्नुभयो”, सबै कुरामा परनिर्भर छ, कसरी कृषि क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ रु” कृषि काम गर्न दुःख मान्ने परिपाटीले हाम्रो कृषि प्रणालिमा नै ह्रास आउन थालेको उहाँको बुझाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न क्षेत्रमा यन्त्रिकरणमार्फत धान रोप्ने र काट्ने काम भए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । चितवनमा रु ३० हजार पाँच सय हेक्टरमा धान खेती गर्ने गरिएको छ । त्यसमध्ये २२ हजार नौ सय २७ हेक्टरमा बर्खेधान र सात हजार पाँच सय ७३ हेक्टरमा चैतेधान लगाउने गरिएको छ । चैतेधान पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादन हुने गरेको छ भने तीन दशमलव ७९ मेट्रिकटन प्रतिहेक्टर बर्खे धान उत्पादन हुने गरेको छ । चितवनमा रहेको १९ प्रतिशत जमिनमा मात्रै खेती हुने गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७९ शुक्रवार - २०:०२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology