देवचन्द्र भट्ट, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले पालिकाका भित्र निर्माण हुने स्वास्थ्य चौकी, प्रहरी कार्यालय र विद्यालयका लागि जग्गा दान गर्नुभएको छ । अध्यक्ष तामाङले स्वास्थ्य चौकी, प्रहरी कार्यालय र विद्यालयलाई ३८ लाख बराबरको तीन कित्ता जग्गा आफैले खरिद गरेर दान गर्नुभएको हो ।
गाउँपालिकाको वडा नम्बर ३ मा रहेको प्रहरी चौकीको लागि ६ लाख रुपैयाँ भन्दा बढीको दुई रोपनी जग्गा, पञ्चकन्या स्वास्थ्य चौकीलाई भवन निर्माणका लागि गाउँपालिका ५ रोपनी जग्गादान गर्नुभएको छ । उक्त जग्गाको मूल्य २४ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
यसका साथै गापा अध्यक्ष तामाङले पञ्चकन्या ३ स्थित पञ्चकन्या माविलाई भवन निर्माणका लागि ९ लाख रुपैयाँ बराबरको जग्गादान गर्नु भएको छ । विद्यालय आसपासमा रहेको ६ रोपनी १२ आना जग्गा अन्य व्यक्तिसँग खरिद गरेर विद्यालयकै नाममा पास गरिदिइएको हो ।
विद्यालय, प्रहरी तथा स्वास्थ्य कार्यालयलाई व्यवस्थित र थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष तामाङले बताउनुभयो । आर्वजनिक जमिनको संरक्षणमा आफु सचेत रहेको र संवेदनशिल निकायहरूलाई परेको जग्गाको अभाव टार्न निजी लगानीमा सहयोग गरिएको उहाँको भनाइ छ ।