कुरिनटार । नेकपा माओवादी केन्द्र इच्छाकामनामा स्थानीय तहको निर्वाचनको बेला देखिएको आन्तरिक विवाद संघ तथा प्रदेशको निर्वाचनसम्म आइपुग्दा झन चर्किदै गएको छ। जसको परिणाम स्वरुप यहि बिहिबार बसेको गाउँकमिटिको सचिवालय बैठकबाट गाउँकमिटि नै विघटन भएको छ।
यहि वैशाख ३१ सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादी केन्द्रमा निर्वाचनमा टिकट वितरणको सन्दर्भलाई लिएर चर्को असन्तुष्टि बढ्दै आन्तरिक विवादले चर्को रुप लिएको थियो। स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उपाध्यक्ष सहित १, २ र ३ वडाको वडाध्यक्षमा उम्मेद्वारी दिएको माओवादी केन्द्रले झिनो मतान्तरले वडा नं. १ मा वडाध्यक्ष मात्र जित्न पुगेको थियो भने पहिलो निर्वाचनमा एक्लै लड्दा पनि प्यानल नै जितेको र सबै भन्दा बलियो मानेको वडा नं. ३ मा यसपटक २ जना वडासदस्य मात्रै जित्न सकेको थियो।
विवादकै बिच स्थानीय तह निर्वाचनमा लज्जास्पद हार व्यहोरे पछि पार्टीको आधिकारीक उम्मेद्वारलाई हराउन लागि परेको भन्दै माओवादी केन्द्र इच्छाकामनाका तात्कालिन अध्यक्ष हरि थापालाई बागमती प्रदेश कमिटिले जेठ २ गते कारवाही स्वरुप निलम्वन गरेको थियो। अध्यक्ष थापालाई निलम्वन गरेसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामप्रसाद बोहोरालाई दिईएको थियो।
निलम्वन गरिएको करिब ४ महिना पछि पार्टीले थापाको निलम्वन फुकुवा गरेपछि झन विवादले उग्र रुप लिएको थियो। थापाको निलम्वन फुकुवा भएपछि अध्यक्षमा पुनर्वहाली गर्न हुन्न भन्ने एउटा पक्ष र पुर्नबहाली गर्नुपर्छ भन्ने अर्को पक्ष बिच विवाद चर्कदै गएको थियो। चर्कदै गएको विवादलाई मिलाउनकै लागि भन्दै बिहिबार कुरिनटारमा माओवादी केन्द्रका स्थायीकमिटि सदस्य एवं निर्वाचन परिचालन कमिटि इन्चार्ज नारायण दाहाल, पोलिटव्युरो सदस्य एवं चितवनको इन्चार्ज रेणु दाहालका साथै पार्टीको केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ ‘क’ प्रदेश सभा उम्मेद्वार समेत रहेको घनश्याम दाहालको उपस्थितिमा छलफल चलेको थियो।
तर छलफलमा विवाद समाधान हुन नसकेपछि वडाकमिटि यथावत रहने गरि गाउँकमिटि इन्चार्ज देखि वडाकमिटि इन्चार्जसम्मका सबै कमिटिका पद र पदाधिकारी विघटन गर्नुका साथै तत्कालका लागि पार्टीको केन्द्रीय सदस्य एवं चितवन क्षेत्र नं. २ ‘क’ प्रदेश सभा उम्मेद्वार समेत रहेको घनश्याम दाहालको संयोजकत्वमा निर्वाचनमा जाने सहमती भएको स्रोतले जानकारी दिएको छ। यद्यपी स्रोतले दिएको जानकारी अनुसार तत्कालका लागि कमिटि विघटन गरेर जाने कुरा संघ तथा प्रदेशको निर्वाचन अघिसम्म कसैले पनि बाहिर नल्याउने र निर्वाचन पश्चात पुनः छलफल गरेर कमिटि पुनः गठन गर्ने मौखिक सहमती भएको छ। तर छलफलको निर्णय बाहिरिएपछि भने माओवादी केन्द्रमा अहिले खैलाबैला मच्चिएको छ।
यसैले माओवादी केन्द्र इच्छाकामनाको आन्तरिक विवादकै कारण संघ तथा प्रदेशको निर्वाचनमा समेत स्थानीय तह निर्वाचनमा झै गठबन्धनको पराजय हुनसक्ने भन्दै कार्यकर्ता तहमा भने चिन्ता बढेको छ।