सुशीला ओली, दाङ । दाङमा पालिकाहरूबीच सिकाई आदानप्रदान हुन थालेको छ । जिल्ला समन्वय समितिको अगुवाईमा महिनामा एकपटक घुम्ती बैठक गरेर अनुभव तथा सिकाई आदान प्रदान गर्न थालिएको हो । जसले पालिकाहरूबीचमा स्वस्थ प्रतिस्पर्धा पनि बढाएको छ ।
दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिकाका प्रमुख उप–प्रमुख हरेक महिना एउटा पालिकामा जम्मा भइ एक अर्काका समस्या तथा सिकाईका बारेमा छलफल गर्छन् । यसबाट आफ्नै पालिका भित्रका समस्या थाहा पाउन पनि सजिलो हुने बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनले बताउनुभयो ।
बैठकको समन्वय गर्ने पालिकाले आफूले गरेका महत्वपूर्ण कामको बारेमा अरु पालिका प्रमुखहरूलाई जानकारी दिने र ती उपलब्धी हाँसिल गर्दा अपनाईएको विधि, आइपरेका जटिलता र उपलब्धिको प्रतिफलका बारेमा सामूहिक छलफल हुने गरेको छ । यसले जिल्लाको विकास निर्माण र पालिकाले गरेका काममा सकारात्मक प्रभाव पर्ने जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको भनाइ छ ।
बैठकमा पालिकालाई काम गर्दा परेका अप्ठयारा एवम् सुरक्षा निकायसँग सम्बन्धित विषयमा पनि छलफल हुने भएकाले उठेका विषय तत्काल सम्बोधन गर्न सकियोस् भनेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई पनि बोलाउने गरिएको छ । यस्तो छलफल र अनुभव आदानप्रदानबाट कार्य सम्पादनमा राम्रो प्रभाव पार्ने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।
बैठकमा नागरिकस्तरका सवालमा पनि छलफल हुने गरेको छ । सडकको स्तरोन्नति, छाडा पशु चौपाया नियन्त्रण, शिक्षा र स्वास्थ्यलाई गुणस्तर तथा सर्वसुुलभ बनाउने लगायतका विषयमा पालिका प्रमुखहरूले छलफल गर्ने गरेका छन् ।