Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरले निजि विद्यालयको शुल्क २० प्रतिशत बढाउने

भरतपुर महानगरले निजि विद्यालयको शुल्क २० प्रतिशत बढाउने

इच्छाकामना न्युज

३, आश्विन २०७९
भरतपुर महानगरले निजि विद्यालयको शुल्क २० प्रतिशत बढाउने

भरतपुर । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको शुल्क अधिकतम २० प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाका कार्यबाहक नगरप्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले हाल कायम भएको शुल्कमा २० प्रतिशत शुल्क बढाउने निर्णय गरेको हो ।

images
महानगरले असोज १ गतेबाट लागु हुने गरी शुल्क वृद्धिको निर्णय गरेको हो । उक्त निर्णयको पत्र स्कुलहरुमा गएपछि कार्यान्वयन हुने भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका अधिकृत दीपक सिग्देलले बताएका छन् ।

२०७६ सालपछि अहिले नै संस्थागत विद्यालयको शुल्क बढेको प्याब्सन चितवनले जनाएको छ । प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले तीन/ तीन वर्षमा शुल्क बढाउने अधिकार भएकोले तीन वर्षपछि बल्ल अहिले शुल्क बढेको बताएका छन् ।

सामान्यतः २०७६ सालदेखि भरतपुर महानगरका ‘ग’ वर्गका संस्थागत विद्यालयको नर्सरीको शुल्क १४ सय २५ रूपैयाँ छ । ‘ख’ वर्गको संस्थागत विद्यालयको नर्सरीको शुल्क १७ सय ८० छ । ‘ग’ वर्गका संस्थागत विद्यालयको तुलनामा ‘ख’ वर्गका संस्थागत विद्यालयले २५ प्रतिशत शुल्क बढाएर लिन पाउँछन् ।

अहिले २० प्रतिशत शुल्क वृद्धि गर्दा ‘ख’ वर्गका संस्थागत विद्यालयले नर्सरीको शुल्क २१ सय ३५ रूपैयाँ लिन पाउँछन् । यो मूल्यमा ‘क’ वर्गका विद्यालयले अझ २५ प्रतिशत शुल्क बढाएर लिन पाउनेछन् । चितवनमा ‘क’ वर्गका विद्यालय छैनन् । केही संस्थागत विद्यालयले ‘क’ वर्गको लागि सम्पूर्ण पूर्वाधारदेखि गुणस्तरसम्म पुगेको दाबी गर्दै ‘क’ वर्गको श्रेणी माग गरिरहेका छन् ।

२०७६ सालमा ‘ग’ वर्गका संस्थागत विद्यालयले कक्षा १० को शुल्क २६ सय ४० रूपैयाँ लिएका थिए । ‘ख’ वर्गका संस्थागत विद्यालयले यसमा २५ प्रतिशत वृद्धि गरेर कक्षा १० को शुल्क ३३ सय लिएका थिए । ‘ग’ वर्गका विद्यालयले लिएको शुल्कमा ‘ख’ ले २५ प्रतिशत बढाएर लिन पाउने अधिकार साबिकको शिक्षा कार्यालयले नै दिएको थियो । अहिले फेरि २० प्रतिशत शुल्क वृद्धि हुँदा अब ‘ख’ वर्गका संस्थागत विद्यालयको कक्षा १० को शुल्क ३९ सय ६० पुग्ने भएको छ ।

भरतपुर महानगरको शुल्क सिफारिस समितिले विद्यालयको भौतिक अवस्थादेखि शैक्षिक गुणस्तरसम्मको स्तर हेरर अधिकतम २० प्रतिशतसम्म शुल्क वृद्धि गर्ने प्रस्ताव नगर शिक्षा समितिमा पुगेपछि शुल्क वृद्धिको निर्णय भएको हो । अनुगमन गरेपछि कक्षा ११ र १२ को शुल्क पनि कक्षा १० सम्मको सँगसँगै बढाउने तयारी भइरहेको महानगरको भनाइ छ ।

भरतपुर महानगरपालिकाले शुल्क वृद्धि नगर्दा अन्य पालिकामा पनि शुल्क वृद्धि हुन सकेको छैन । अन्य पालिकाका शिक्षा शाखाहरु भरतपुर महानगरको शुल्कको निर्णय आएपछि सोही निर्णयलाई टेकेर अघि बढ्ने बताएका छन् । पटकपटकको छलफलमा विद्यार्थी संगठनहरुले शुल्क वृद्धिको विरोध गरिरहेका छन् । शुल्क वृद्धि गरेपछि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब बढाउन सकिने प्याब्सनले जनाएको छ ।

 

images
प्रकाशित मिति :आश्विन ३, २०७९ सोमवार - ०८:३३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology