चितवन । कुमाल समुदायको संग्रहालय निर्माणमा ढिलाई भएको छ । नेपाल कुमाल समाज सुधार समिति चितवनले बनाएको संग्रहालय भवन बजेट अभावले अलपत्र परेको छ । भरतपुर–११ बोहोरा मार्गमा निर्माणाधिन छ । २०७७ चैत ७ मा निवर्तमान उपमेयर पार्वती शाह ठकुरीबाट भवनको शिलन्यास भएको थियो । निर्माण समितिका संयोजक खुशबहादुर कुमालले भवनको एक तला समेत पुरा हुन नसकेको दुखेसो गर्नुभयो ।
जग्गा होचोमा रहेकाले जमिन सतह मिलाउद बजेट अपुग भएको छ । महानगरले ५ लाख, वडा नम्बर ११ ले ८ लाख र प्रदेश सांसद पार्वती सिलवालको पहलमा बागमती प्रदेशबाट १२ लाख ४३ हजार बजेट परेको थियो । १८ फिट गहिरो जमिन मिलाउदा धेरै बजेट खर्च भएको छ । संग्रहालय भवन निर्माण पुरा हुन १ करोड २५ लाख खर्च हुने अनुमान छ ।
नेपाल कुमाल समाज सुधार समिति चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालले २७ लाख ४३ हजार खर्च भएको बताउनुभयो । माग गरेअनुसार बजेट नआउदा निर्माणमा ढिलाई भएको बताउनुभयो । जिल्ला स्तरीय संग्राहलय तीन तलाको बनाइने बताउनुभयो । संग्रालयको दुई तलामा कुमाल समुदायको मौलिक संस्कार, संस्कृति, सभ्यता झल्कीने सामाग्रीहरु राखिनेछन् । तेस्रो तलामा प्रशासनिक कक्ष राखिनेछ ।