Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनिति

चितवनमा ५ दलीय गठबन्धन भर्सेस एक्लो एमाले, के छ चुनावी अंकगणित ?

चितवनमा ५ दलीय गठबन्धन भर्सेस एक्लो एमाले, के छ चुनावी अंकगणित ?

images

इच्छाकामना न्युज

३०, श्रावण २०७९
चितवनमा ५ दलीय गठबन्धन भर्सेस एक्लो एमाले, के छ चुनावी अंकगणित ?
images

चितवन । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय गरिसकेको छ । निर्वाचनको मिति तय भएसँगै चितवनमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरु आन्तरिक तयारीमा जुट्नुको साथै अंकगणितीय लेखाजोखामा केन्द्रित देखिन्छन् ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकता गरेका थिए । वाम एकताका कारण चितवनमा संघीय र प्रदेश सभामा अधिकांश क्षेत्रमा एमाले र माओवादी केन्द्र विजयी हुँदा काँग्रेस भने खुम्चिएको थियो । चितवनका सबै क्षेत्रमा निर्वाचन जितेर बाम गठबन्धनले एकल बहुमत प्राप्त गरेको थियो ।
 
एकताले दुवै पार्टीका कार्यकर्ताहरुमा आशाको सञ्चार गराएको थियो । अब ५० वर्ष एकता नटुट्ने शीर्ष नेता केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता व्यक्त गरेका थिए तर उनीहरु दुवैको प्रतिबद्धता र घोषणा पूरा हुन नसकेकोले पनि कार्यकर्ता पहिले जस्तो उत्साहित बन्न सकेका छैनन् । एक र अर्काेबीच आरोप प्रत्यारोपमा नेपालको राजनीति अल्झिराखेको देखिन्छ । निराश कार्यकर्ता फकाउन दुवै पार्टीलाई त्यति सजिलो भने छैन ।

आसन्न निर्वाचनमा एमालेविरुद्ध सत्तारुढ गठबन्धन तालमेलका साथ चुनावी मैदानमा उत्रिने भएका छन् । अघिल्लो निर्वाचनमा पार्टी एकताका आधारमा एमालेले हासिल गरेको बहुमत सिट सत्ता गठबन्धनको कारणले खोसिने त होइन भन्ने चिन्ता एमालेमा छ । तर चितवनमा एमाले सबैभन्दा बलियो पार्टीको रुपमा स्थापित छ । सत्ता गठबन्धनसँग हुने तालमेललाई चुनौती दिन एमाले एक्लै वा साना दलहरुसँग तालमेल गर्ने रणनीतिमा देखिन्छ ।

२०७४ मा नेकपा माओवादी केन्द्रसँग एकता गरेर ठूलो पार्टी बनेको एमाले आगामी निर्वाचनमा एक्लै चुनावी मैदानमा होमिन खोज्दै छ । चितवनमा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको प्रभाव पनि राम्रै देखिन्छ अघिल्लो निर्वाचनमा उनले प्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्दा पनि राम्रो मत ल्याएका थिए । उता आगामी निर्वाचनमा माओवादी केन्द्र पनि संसदीय अंकगणितमा आफू निर्णायक शक्ति बन्ने गरी गठबन्धन गरेर अगाडि बढेको छ । सत्ता गठबन्धन नभाँडिएको खण्डमा कांग्रेसलाई सघाएर अघि बढ्ने तयारी माओवादी केन्द्रको छ । सोही अनुसार माओवादी केन्द्रले पनि आफू कुन ठाउँमा कसरी सुरक्षित बन्न सकिन्छ भन्नेमा कसरत गरिरहेको छ ।

२०७४ को चुनावी अंकगणित

चितवनमा प्रतिनिधिसभा तर्फ चितवन १ मा एमालेका सुरेन्द्रप्रसाद पाण्डे ५१ हजार ८० मत ल्याएर निर्वाचित भएका थिए । उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद वुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले ४४ हजार ६७० मत र कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए । यो क्षेत्र एमाले उपाध्यक्ष बादलको पनि क्षेत्र हो ।

त्यसैगरी देशभर निकै चर्चामा आएको चितवन ३ माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४८ हजार २७६ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे । अहिले एमाले र माओवादीको गठबन्धन टुटेर कांग्रेसले माओवादीसँग चुनावी तालमेल गरेकोले प्रचण्डलाई त्यती सहज भने देखिँदैन । अर्काेतिर स्थानीय निर्वाचनमा आक्रामक बनेको कांग्रेसको असन्तुष्ट समूहको भूमिका कस्तो रहन्छ भन्ने विषयले पनि प्रचण्डको जितलाई निर्धारण गर्छ ।

हरेक पटकमा निर्वाचन क्षेत्र फेर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपटक भने चितवन ३ बाटै दोस्रोपटक चुनाव लड्दैछन् । २०६४ मा रोल्पा र काठमाडौं, २०७० मा काठमाडौं र सिरहा तथा २०७४ मा चितवनबाट प्रचण्डले चुनाव लडेका थिए । यसपटक निर्वाचन क्षेत्र फेर्न पार्टीभित्र सुझाव आए पनि आफू चितवन ३ बाटै उम्मेदवार बन्ने घोषणा उनले गरेका छन् । प्रचण्डको फेरि एकपटक प्रधानमन्त्री बन्ने धोको चितवन क्षेत्र नम्बर ३ ले पूरा गर्छ कि गर्देन मंसिरको पहिलो सातासम्म कुर्न जरुरी छ । नारायणी अनलाईनबाट

 

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - १९:४२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology