आँबुखैरेनी । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेसँगै स्थानीय तहमा राजनैतिक दलहरुले राजनैतिक गतिविधी बढाउन थालेको छ। सोही अनुरुप नेकपा एमाले आँबुखैरेनी गाउँकमिटिले आज एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमालेका युवा नेता महेश बस्नेतको प्रमुख आथित्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि बस्नेतले स्थानीय तह निर्वाचनमा आँबुखैरेनीमा पार्टीले सोचे झै परिणाम ल्याउन नसकेकोमा स्थानीय कार्यकर्तामा केहि निरासा देखिए पनि समग्र रुपमा हेर्दा नेकपा एमालेप्रति जनताको आकर्षण अझ बढेकोले निराश हुनुपर्ने अवस्था नरहेको बताए।
‘जनताले अहिले पनि एमालेलाई राष्ट्रवादी पार्टीको रुपमा चिन्ने गरेको छ, यो कुरा तपाई हामी सबैले मन मस्तिष्कमा लिएर जनताको घरदैलोमा जाऔं, आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेको जित निश्चित छ’ –उनले भने ‘एमालेले हारे राष्ट्रले हार्ने भएकोले एमालेलाई कुनै पनि बहानामा हार्ने छुट छैन र जनताले जसरी पनि जिताउछ ढुक्क हुनुस्।’
कार्यक्रममा तनहुँ क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का प्रदेश सांसद राम बहादुर गुरुङ, नेकपा आँबुखैरेनी गाउँकमिटि इन्चार्ज दुर्गबहादुर थापा, गाउँकमिटि अध्यक्ष मीना अधिकारी लगायतको उपस्थिति रहेको थियो भने स्थानीय कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।