Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारी कर्मचारीको बदमासी : नागरिकतामा ‘कुकुर’ नाम लेखिदिदाछोराछोरी र नातिनातिनासम्मलाई समस्या

सरकारी कर्मचारीको बदमासी : नागरिकतामा ‘कुकुर’ नाम लेखिदिदाछोराछोरी र नातिनातिनासम्मलाई समस्या

इच्छाकामना न्युज

१६, श्रावण २०७९
सरकारी कर्मचारीको बदमासी : नागरिकतामा  ‘कुकुर’ नाम लेखिदिदाछोराछोरी र नातिनातिनासम्मलाई समस्या
images

दैलेख । नागरिकताको प्रमाणपत्रमा १९९० मा जन्मेको मान्छेको २०९० उल्लेख भएको, बाबुभन्दा छोरो जेठो हुने गरी जन्ममिति लेखिएको, शैक्षिक योग्यताका कागजमा एउटा नाम थर तर नागरिकतामा फरक उल्लेख भएको लगायतका त्रुटि धेरै देखिन्छन् ।

images
images

गोरे खत्री लेख्ने ठाउँमा गोरु खत्री भएको, इमानसिंह भारतीलाई बेइमानसिंह भारती जस्ता नियतवश नाम बिगारिएका उदाहरण पनि छन् । दैलेखमा त आफ्नो नाम कविराम कामी लेख्न भन्दाभन्दै नागरिकता बनाउने टोलीले ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको भेटिएको छ । 

२०४६ जेठ ७ गते गाउँमै गएको नागरिकता टोलीले ‘कुकुर कामी’ लेखेको कारण कविराम ३३ वर्षयता गाउँसमाजमा हुने भेलामा जान छोड्नुभएको छ । २०१७ पुस २५ गते जन्मनुभएका कविराम कामीलाई तत्कालीन मेहेलतोली गाउँपञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता दिइएको हो । 

त्यसबेला मेहेलतोली गाउँपञ्चायत, अहिलेको सङ्घीय पुनर्संरचनाअघि मेहेलतोली गाविस थियो । नागरिकतामा मेहेलतोली गाउँपञ्चायत–६ लेखिएको ठाउँ सङ्घीय पुनर्संरचनापछि अहिले भगवतीमाई गाउँपालिका-३ नं. वडामा पर्दछ । 

नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कबिराम भुन्टाे कामीका कान्छो छोरा हुनुहुन्छ । कविरामभन्दा अघि ६ जना दाजुहरु जन्मिएका थिए । तर जन्मनेबित्तिकै दाजुहरुको ज्यान गयो । सातौँ सन्तानको रुपमा जन्मिएका कविरामको नाम कुकुर राखे बाँच्न सक्छन् भन्ने पण्डितको सल्लाहमा बाँचून् भनेर राखिएको नाम थियो ‘कुकुर’ । 

राशीको नाम कविराम आएको थियो, बाँचून् भनेर ‘कुकुर’ नाम भन्ने गरिएका कान्छो छोरा संयोग नै होला बाँच्नुभयो । उहाँ त बाँच्नुभयो तर नागरिकतामा ‘कुकुर’ लेखिएकै कारण उहाँ आफैँ, श्रीमती, सात छोराछोरी १३ नातिनातिनीहरु फलानोको श्रीमती, फलानोको छोराछोरी वा फलानोको नातिनातिनी भन्न गाह्रो हुने गरेको छ ।

जेठी छोरी लक्ष्मीको जाजरकोटको जुनीचाँदेमा विवाह भएको छ । एक छोरा र तीन छोरी जन्माइसकेकी उहाँले बुबाको नाम उल्लेख गरी नागरिकता लिन अप्ठ्यारो परेर नागरिकता लिनुभएको छैन । माइली छोरी कल्पनाको भगवतीमाई गाउँपालिका–७ तौलुम विवाह भएर दुई छोरी छन्, उहाँले पनि यही समस्याले नागरिकता बनाउनुभएको छैन । 

जेठो छोरा जयबहादुर (२९) मलेसियामा तीन वर्ष काम गर्नुभयो, बुबाको नागरिकतामा भएको नाम लेखेर पैसा पठाउन गाह्रो लागेर पठाउनुभएन । पछि त्यहाँ झण्डै तीन लाख रुपैयाँ सापटी लिएका नेपाली साथीले फर्काएनन्, उतै पच्यो । 

कान्छी छोरी रत्ना  र माइलो छोरा सन्तरामले नागरिकता बनाउनुभएको छ । तर बुबाको नाम ‘कुकुर’ लेखिएकै कारण त्यो नागरिकता देखाउन अप्ठ्यारोले गाउँका समूहमा बस्ने, सामुदायिक क्रियाकलापमा सहभागी वा प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता आयआर्जनका कार्यक्रममा सहभागी हुन नगएको रत्नाले बताउनुभयो । 

साइलो छोरा पप्पुले कक्षा ८ मा पढ्दा चार वर्षअघि विद्यालयमा साथीहरुले जिस्काएकै कारण बिचैमा पढाइ छाड्नुभयो, अहिले उहाँ भारतमा मजदुरी गर्नुहुन्छ । कान्छो छोरा शिवराज गाउँकै एक विद्यालयमा कक्षा १० मा पढ्दै हुनुहुन्छ ।

Kukur_Kami_3_Social_Securith_Card_Lj69B0FQCi.jpg 

साथीहरुले जिस्काइदिने गरेकै कारण शिवराज पनि हतोत्साहित हुने गरेको खड्गदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद रेग्मीले सुनाउनुभयो । उहाँले भन्नुभयो ‘बुबाको नाम थाहा पाएर पनि साथीहरुले जिस्काउने गर्छन्, हामीले त्यसो नगर्नू भनेर सम्झाउने चाहिँ गरेका छौँ ।’

जन्मिँदै छोराहरु मर्न थालेपछि कविरामको जस्तै मेहेलतोली र छिमेकी गाउँ जगनाथमा समेत त्यो समयका करिब छ जनाको नाम ‘कुकुर’ भन्ने गरिएको थियो । समाजका अगुवाहरुले सभ्यताको विपरीत हुने भन्दै राशीको नाम लेखाए । कविरामले नागरिकता लिएकै समयमा त्यतिबेलाका जनप्रतिनिधि र सामाजिक अगुवाहरुको प्रयासमा ‘कुकुर’ नाम भन्ने गरिएका तीन जनामध्ये प्रेमबहादुर दमाई, पदमबहादुर कामी र धनबहादुर कामी नाम लेखेर नागरिकता पाए । 

त्यतिबेला नागरिकता वितरणमा गएका टोली प्रमुख दुर्गाप्रसाद गिरिले दस्तखत गर्दा नागरिकतामै ‘कुकुर’ नलेखौँ भनेर रोकेको भए बदलिन सक्थ्यो । नागरिकताको प्रमाणपत्र सम्बन्धी सिफारिसमा प्रधानपञ्चबाट सही गराउनुअघि त्यसबेलाका गाउँपञ्चायतका सचिवले ध्यान पुर्याएको भए पनि कविराम कामी लेखिएको हुन्थ्यो । 

मेहेलतोलीमा त्यो बेला तीन जनाको नाम ‘कुकुर’ लेखेरै नागरिकता दिइएको विवरण प्राप्त भएको छ । अरु दुई जनाको निधन भइसकेको छ । अरु दुई जना कविराम भन्दा १५–२० वर्ष जेठा हुनुहुन्थ्यो । नागरिकतामै ‘कुकुर’ नाम लेखिएका सबै जना दलित मात्र हुनुहुन्छ । 

‘बाँचून् भनेर राखिएको नाम बदल्न सकिन्थ्यो, हाम्रो गाउँमा बदल्यौँ’ भगवतीमाई गाउँपालिका–४ जगनाथका स्थानीय बासिन्दा पूर्व शिक्षक कृष्णप्रसाद अधिकारीले भन्नुभयो ‘घरकाले बिगारेको नाऊँ, ठालुले बिगारेको गाऊँ’ उखान त्यसै चलेको होइन । 

दमाई कामीहरुकै नाम बिगार्ने राख्ने शृङ्खला अझै पनि कायम रहेको अधिकारकर्मी मनिषा विकको टिप्पणी छ । ‘यो जातीय विभेदको स्वरुप हो’ उहाँको तर्क छ । ‘अगाडिका सन्तानहरु मरिरहन थालेपछि बाँचून् भनी ‘कुकुर’ क्षेत्री, बाहुन वा ठकुरीलाई चाहिँ किन भनिएन ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।

कविराम कामीको नागरिकतामा ‘कुकुर कामी’ लेखिएकै विषयमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले के कसरी सुधार गर्न सकिन्छ र प्रक्रिया के हुनसक्छ मन्त्रालयमा सोधेर भन्न सकिने जानकारी दिनुभयो । 

गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका इञ्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले नागरिकतामै ‘कुकुर कामी’ लेखिनु आपत्तिजनक भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो ‘यसले धेरै अपमान बोध गराएको होला भन्ने सहजै महसुस भएको छ, नाम बदल्नेबारे समाधानको पहल हुन्छ ।’  उज्यालो अनलाईनबाट

 

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १८:४०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology