माया कँडेल, नवलपुर । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि चितवनका किसान केराखेतीमा आकर्षित हुन थालेका छन् । ३० वर्ष अघिसम्म करेसाबारीमा सीमित रहेको केरा खेती अहिले व्यावसायिक बनेको छ ।
रत्ननगर जयमङ्गलाका सरला ढकाल भन्तनाले पाँच बिगहा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएको छ । भन्तनालाई केरा खेतीमा लागेदेखि घरपरिवार चलाउन सहज भएको छ ।
रत्ननगर १२ जिरौनाका रामचन्द्र दुवाडीले शिक्षण पेशा छाडेर ७ वर्षदेखि १० बिगाहा क्षेत्रफलमा केरा खेती गरिरहनुभएको छ । प्रति बिगहा २ देखि ३ लाखका दरले आम्दानी भइरहेको दुवाडीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार अहिले २ हजार ७८ हेक्टर क्षेत्रफलमा केरा खेती भइरहेको छ । जसले गर्दा चितवन केराखेतीका लागि प्रसिद्ध बन्दै गएको छ । देशभरि उत्पादन हुने केराको ४० प्रतिशत केरा अहिले चितवनमा नै उत्पादन हुन्छ । किसानका लागि बीमा सहुलियत, अनुदान जस्ता कार्यक्रम आएपछि किसानहरू केरा खेतीमा आकर्षित हुन थालेका हुन् ।
चितवनमा हरेक वर्ष करिब ४५ हजार १ सय ९६ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ भने करिब ७ सय घरधुरी केरा खेतीमै आश्रित छन् । केरा खेतीलाई थप ब्यवस्थित बनाउनका लागि पालिकाले अनुदानका कार्यक्रम ल्याउने तयारी गरिरहेको रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले बताउनुभयो । अहिले चितवनमा मालभोग र जि नाइन जातको केरा मात्रै लगाइन्छ ।